७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको राष्ट्रवादी छविमै प्रश्न उठ्ने गरी समाजिक सञ्जालमा आलोचना

kp oli birthday

चौतर्फी आलोचनाको शिकार भइरहेको नेकपा सरकारमा यतिबेला पटक–पटक सरकारको काम–कारबाहीले होस् वा सरकारका मन्त्रीकै कारण विवादमा पर्दै आएका ओली पछिल्लो समय आफ्नै जन्मोत्सवको विषयलाई लिएर विवादमा तानिएका छन् ।

राजकिय शैलीमा जन्मदिन मनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । आइतबार ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराई पुगेका ओलीको जन्मदिनको अवसरमा तयार भएको केकमा नेपालको नक्सा प्रयोग भएको भन्दै समाजिक सञ्जालमा आलोचना भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा तेह्रथुममा नेपालको नक्सा भएको केक काटिएपछि सामाजिक सञ्जालमा ओलीको राष्ट्रवादी छविमै प्रश्न उठ्ने गरी विरोध भएको छ ।

प्रधानमन्त्री ओलीको जन्मदिनमा यती होल्डिङ्सले उक्त केक पुर्याएको हो । एउटा हेलिकप्टर नै प्रयोग गरेर उक्त १५ किलोको केक आठराई पुर्याइएको हो । नेपालको नक्साक अंकित उक्त केक काट्दा ओली निकै खुशी थिए । ओलीका विश्वासपात्र गोकुल बास्कोटाले ७० करोड कमिसन बार्गेनिङ गरेर आलोचना खेपीरहेका ओली पुनः अर्को विवादमा परेका छन् । सोही कारण सामाजिक संजालमा उनको शैलीको चर्को आलोचना भएको छ ।

त्यसो त, प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको आचारसंहितालाई उल्लंघन गर्दै तडकभडकका साथ केक काटेको भन्दै पार्टीभित्रैबाट आलोचना शुरु भएको छ । नेतृत्वमा रहेका ओली आफैले यस्तो काम गर्नु राम्रो नभएको कार्यकर्ताहरुको स्वर छ । गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाई जन्म दिन, ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमै सीमित राख्नुपर्ने उल्लेख छ ।

ट्वीटरमा साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य भन्छन्, ‘प्रम ज्यु, ‘बर्थडे–केक’ को तस्बिर विद्रुप लाग्यो । प्रमको मर्यादा र यहाँको राजनीतिक व्यक्तित्वलाई यो दृश्यले न्याय गरेन । प्रतिकात्मक अर्थ के बुझेर यस्तो केक बन्यो थाहा भएन । १९९८ मा रुसमा चै कम्युनिष्ट शासनको अन्त्य मनाउन लेलिनको आकृतिको केक काटिएको थियो ।’

यस्तै, साझा पार्टीका नेता रवीन्द्र मिश्रले पनि ट्वीट्रमै भनेका छन्, ‘जनतालाई हेप्नी ? प्रधानमन्त्रीज्यूलाई शुभकामना । तर गाउँको गरिवी, आम जनभावना,समाजवादीरसाम्यवादी सोच, देशभक्ती– सबैको उपहास भयो । अविकास, कुशासन, काण्डैकाण्डको पीडा त छँदैछ । “गर्छौ पाप, खोज्छौ स्वर्ग, जान्दैनौ कर्मको गति रिट्ठाको बोट रोपेर कहाँ फल्छ र कागती ।”

प्रधानमन्त्री ओलीले ट्रयाक्टरमा ओसारिएका विद्यार्थीहरुलाई कापी–कलम वितरण गरेपछि विवेकशील नेपालीका नेता मिलन पाण्डेले फेसबुकमार्फत् लेख्छन्, ‘श्री ६ प्रधानमन्त्री केपी शर्मा ओली ज्यु । नागरिकलाई ट्रयाक्टर, प्रधानमन्त्रीलाई हेलिकप्टर रु प्रधानमन्त्रीको हेलिकप्टरले नागरिकको ट्रयाक्टरलाई हेप्दै छ । गिज्याउँदै छ । अनि, लोकतन्त्र लज्जित छ ।’

यस्तै, ट्वीटरमै नारायण अमृत भन्छन्, ‘बर्थडे केक’मा नेपालको नक्सा रहेछ । नक्सा काटेर लिम्पियाधुराको अनुमोदन हो कि अरु कुनै अलंकारको खोजी रु कहिलेकाँही सौन्दर्य, सन्देश र संवेगको वेसुर बाँसुरीमा मात्र हैन अरु उपक्रमहरुमा बज्दोरहेछ ।’

हुन त ओली सरकारको दुईवर्षे कार्यकाल नै कुनै न कुनै विवादमा रहँदै आएको छ । पटक–पटक आफ्नै अभिव्यक्तिका कारण पनि ओली सरकार विवादको घेरामा तानिँदै आएका छन् ।

नेपालमा पानीजहाज, रेल चलाउने कुरा होस् वा सडक सडकमा आफ्नै तस्वीर झुन्ड्याइनुले पनि उनी यसअघि विवादमा परिसकेका छन् ।