७ बैशाख २०८१, शुक्रबार

नैनकला थापा: उत्कृष्ट अंग्रेजी शिक्षिका, महिला आयोगको अध्यक्ष हुदै नेपालको पहिलो महिला सञ्चारमन्त्री

nainkala thapa 12

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको अंग्रेजी विषयकी पूर्वशिक्षिका नैनकला थापा नेपालको सञ्चार मन्त्री बनेकी छन् ।

सञ्चारमन्त्री थापाको घर भरतपुर महानगरपालिका वडा नम्बर १० पुरानो मेडिकल कलेज अगाडि रहेको छ । बागलुङ भिमपोखरामा २०१६ सालमा जन्मिएकी नैनकला एसएलसी सकिएसँगै उनी अध्ययन गरेकै बुटवलको कालिका माविमा शिक्षिका भइन् । शिक्षिकासँगै शिक्षा संकायको पढाईलाई पनि निरन्तर दिइन् । चितवनमा उनलाई नजिकबाट चिन्ने आफन्तहरुले जनाए अनुसार २०३८ नेकपा (चौथो महाधिवेशन) बाट पार्टी सदस्यता लिएकी उनले रुपन्देहीको अखिल नेपाल महिला संघकी जिल्ला सचिव भइन् । आन्दोलनकै क्रममा २०४० सालमा उनको रामबहादुर थापा ‘बादल’सँग विवाह गरिन् । रुसको अध्ययन छोडेर आन्दोलनमा होमिएका बादलसँगको भेट गराउने मेसो सूर्या थापाले गरिदिएकी थिइन् । सूर्या नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहकी माइजु हुन् ।

विवाहपछि नैनकलाले पढाई, राजनीति, पारिवारिक जिम्मेवारी एकैसाथ बहन गर्दै आइन् । ‘मास्टर, पढाई, राजनीति दिदीले सँगसँगै अघि बढाइन्’, भाइ ठाकुर थापाले भने । शिक्षणसँगै नैनकलाले शिक्षा र मानविकीमा स्नातक गरिन् । विवाहसँगै उनको भूगोल फेरियो । बादलसँग विवाह गरेपछि उनी नारायणी मावि, चितवनमा सरुवा भइन् । त्यहाँ उनी उत्कृष्ठ शिक्षिका समेत घोषित भएकी थिइन् ।

नैनकलालाई नजिकबाट चिन्ने चितवनका शिक्षाविद्ध रमाकान्त सापकोटाले नारायणी माविमा नैनकलासँगै पढाएका थिए । उनले भने, ‘ उहाँ माध्यमिक तहमा अंग्रेजी पठाउनु हुन्थ्यो । मेरो मेडम नारायणी सापकोटाको अत्यन्त मिल्ने साथी हनुहुन्छ । उहाँले सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नात्तकोत्तर तह पनि भर्ना भएर पढ्नु भएको थियो । ’ शिक्षाविद्ध सापकोटाले शिष्ट, शालिन, उत्कृष्ट शिक्षिकाको रुपमा नैनकलाको स्मरण गरे ।

नेकपा (मसाल)को विभाजन हुनै लाग्दा २०४२ मा उनी अखिल नेपाल महिला संघको केन्द्रीय महासचिव बनिन् । पछि मसाल मोटो र पातलो भनेर विभाजन भयो । २०४७ मा नैनकला अखिल नेपाल महिला संघ केन्द्रीय संयोजक बनिन् । तात्कालिन एकताकेन्द्र गठनपछि उनी २०५० मा एकीकृत अखिल नेपाल महिला संघ केन्द्रीय महासचिव बनिन् । शान्ति प्रक्रियापछि नैनकला राष्ट्रिय महिला आयोगको अध्यक्षको (२०६४–२०६८) जिम्मेवारी सम्हालिन् । त्यससँगै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिलासम्बन्धी विज्ञ समूहको सदस्यका रुपमा पनि उनले काम गरिन् ।

    सम्बन्धित समाचार...