१३ बैशाख २०८१, बिहीबार

गण्डकी प्रदेशसभा मैना चरीहरूको बथान जस्तो भयो : मुख्यमन्त्री गुरुङ

jj2021 06 10 06 12 51

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशसभा मैना चरीहरूको बथानमा परिणत भएको बताउनुभएको छ ।

बिहीबार संसदमा विश्वासको मत लिने क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले प्रदेशसभामा प्रतिपक्ष गठबन्धन र सत्तापक्ष बनेपछि प्रदेशसभा मैना चरीहरूको बथान बनेको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘……. हाम्रो चाहिँ क्रियाकलापका कारण, हाम्रो यहाँ अभिव्यक्त गर्ने विषयवस्तुका कारण, त्यसको अन्तरबस्तुका कारण / हिसाबले यो प्रदेशसभालाई हामी मैना चरीहरूको बथान जस्तो बनाइरहेका छौ ।‘

मुख्यमन्त्री गुरुङले प्रदेशसभा ‘क’ भन भन्दा ‘क’, ‘ख’ भन भन्दा ‘ख’ भन्ने मैना चरीहरूको बथान जस्तो बनेको बताउनुभयो ।

उहाँले त्यस्तो खालको गतिविधिलाई रोकेर प्रदेशसभालाई सृजनशील र आलोचनात्मक चेत भएको थलो बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

संविधानको धारा १६८(३) अनुसार पुनः मुख्यमन्त्री नियुक्त भएका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेशसभामा बिश्वासको मत दिन मुख्यमन्त्री गुरुङ्गले राख्नुभएको प्रस्ताबमाथि अहिले मतबिभाजन मार्फत मतदान भइरहेको छ ।

मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत नपाए प्रदेश प्रमुखबाट संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको आह्वान हुने छ ।