१५ चैत्र २०८०, बिहीबार

चितवनमा मोटरसाइकल दुर्घटनाः आमाको मृत्यु, छोरा घाइते

rajaiya accident bike
फाइल फोटो

चितवनको कालिका नगरपालिका–९ सुनखानीस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलबार राति करिव १०ः१० बजेको समयमा उपरदाङ्ग गढीबाट शक्तिखोर तर्फ आंउदै गरेको ना.३६प.२१९९ नम्बरको मोटरसाइकल आंफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनामा मोटरसाइकल पछाडी सवार ईच्छाकामना गाउँपालिका–२ बस्ने अन्दाजी ६२ वर्षकी हस्तमाया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने अन्दाजी ३६ वर्षका फत्ते बहादुर मगर घाइते भएका छन् । उनको दुबै खुट्टा, हात तथा ढांडमा चोट लागेको छ । उनको मध्यम अवस्थामा चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा परेकाहरु आमा छोरा रहेको प्रहरीले जनाएको छ ।