१५ चैत्र २०८०, बिहीबार

कोरोना महामारीमै बढ्यो हात धुने साबुनको भाउ

hand wash

कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्यकर्मी र विज्ञहरूले साबुन पानीले हात धुन सुझाव दिने गरेका छन् । अझ सरकारले सार्वजनिक रूपमा यसको विज्ञापनसँगै हरेक टेलिफोन र मोबाइलमा डायल गर्दा रिङटोनमै साबुन पानीको हात धुन सन्देश प्रवाह पनि गरिरहेको छ । तर, त्यही साबुनको भाउ बढ्दै गएको छ ।

बजारमा अधिकांश वस्तुको मूल्य बढिरहेको बेला सरसफाइका लागि प्रयोग हुने साबुनको मूल्य २० देखि २५ प्रतिशतले बढेको छ । हात धुनकै लागि प्रयोग हुने साबुनको समेत मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न गएको छ ।

साबुन बनाउन प्रयोग हुने कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै उद्योगले साबुन, सोडाको मूल्य बढाएका छन् । कच्चा पदार्थको मूल्य बढेर आएको बहाना देखाउँदै उद्योगीले नुुहाउन र कपडा धुनका लागि प्रयोग हुने साबुन, भाडा धुने साबुन, सोडा सबैको मूल्य बढाएका छन् । दिनेश साबुन उद्योगका सञ्चालक मुकुन्द घिमिरेले साबुनका लागि प्रयोग हुने कच्चा पदार्थको मूल्य बढेर आएकाले साबुन सरफको मूल्य २० देखि २५ प्रतिशत बढ्न गएको बताए । “अहिले साबुनको होलसेल मूल्यमात्र बढेको छ,” उनले भने, “असार महिनादेखि खुद्रा मूल्यसमेत बढ्छ ।” कोभिडको बेला अनिवार्य रूपमा हात धुनुपर्ने भएपछि बजारमा खपत पनि बढेको उनले जानकारी दिए ।

साबुन बनाउनका लागि प्रयोग हुने कच्चा पदार्थ विदेशबाट आयात हुने गर्छ । पछिल्लो एक सातादेखि बजारमा खुद्रा व्यवसायीले मूल्य बढेर आएको भन्दै साबुनको मूल्य बढाएको छ । प्रतिगोटा साबुनमा ५ देखि ७ रुपैयाँ बढ्न गएको छ । ३५ रुपैयाँ पर्ने एक सय ग्रामको लक्स साबुनको मूल्य बढेर ४० पुगेको छ । यस्तै ३० रुपैयाँ पर्ने एक सय ग्रामको लाइफव्याई साबुन बढेर ३५ रुपैयाँ पुुगेको छ । यस्तै यसअघि ६० रुपैयाँ पर्ने ५ सय ग्रामको सरफमा ७ रुपैयाँ बढेर ६७ पुगेको छ । कच्चा पदार्थ मूल्य ६ महिना अघिदेखि नै बढे पनि बजार बन्द भएकाले यस अघि मूल्य नबढाएको र बजार खुल्दा बित्तिकै अझ मूल्य बढने उद्योगीको भनाइ छ ।