१५ बैशाख २०८१, शनिबार

स्वास्थ्य र शिक्षा केन्द्रित बजेटः अर्थमन्त्री यादव

mantri yadav 750x375 1

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा विनियोजन विधेयक २०७८ प्रस्तुत गर्दै अगामी आर्थिक वर्षको बजेट कोरोना महामारीमा केन्द्रित हुने बताएका हुन् । उनले कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लागि सम्पूर्ण स्रोत साधनको सदुपयोग गर्न आवश्यक बजेट उपलब्ध गराउने बताए ।

प्रदेशको सबै नागरिकका लागि कोरोना भाइरसको खोप उपलब्ध गराउन बजेट विनियोजन गर्न लागेको पनि जानकारी गराए । उनले कोरोना महामारीका कारण शिक्षा क्षेत्र पनि भद्रगोल बनेको भन्दै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण र जनशक्ति बढाउन आवश्यक बजेट विनियोजन गरिने बताएका छन् । शिक्षा, स्वास्थ्य लगायत मानव सुचकांकमा पछाडी हरेक क्षेत्रको उत्थानका लागि बजेट विनियोजन गर्ने उनको भनाई छ । मन्त्री यादवले कोरोना महामारीका कारण प्रदेशमा राजश्व संकलनमा संकुचन आएको भन्दै आर्थिक गतिविधि गतिशिल बनाउनुपर्नेमा जोड दिए । उनले विगतका वर्षहरुमा घोषणा गरिएको महात्वाकांक्षी योजनाहरुलाई निरन्तरता दिइने प्रतिवद्धता पनि जनाए । विनियोजन विधेयक ०७८ को मुख्य सिद्धान्तहरु प्रस्तुत गर्दै उनले लोक कल्याणकारी राज्यको दायित्व निर्वाह हुनेमा बजेट केन्द्रित रहने बताए । उनले प्रदेशभित्र रोजगारीका अवसरहरु सृजना गरिने पनि बताए ।

वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिको पुँजी, शिप, ज्ञान र क्षमतालाई उपयोग गर्ने गरी प्रदेशमा रोजगारीको अवसर सिर्जना गर्ने उनले बताए । कृषि क्षेत्रको आधुनिकीकरणका लागि आवश्यक बजेट छुट्याउने उनको भनाई छ । मुलुकको पन्ध्रौ आवधिक योजना, प्रदेशको पहिलो आवधिक योजना, दिगो विकासका लक्ष्यहरु, राज्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिवद्धता र अठोट तथा प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रम, जनता समक्ष गरिएका प्रतिवद्धतालाई पुरा गर्ने तर्m आगामी आर्थिक वर्षको बजेट लक्षित हुने उनले बताए ।

मन्त्री यादवले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ मा मंगलवार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुने बताइएको छ । प्रदेश सरकारले जेठ २७ बजे नीति तथा कार्यक्रम र असार १ मा बजेट ल्याउने तयारी गरेको छ । प्रदेशसभाको अर्को वैठक जेठ २५ गते मंगलबार दिउँसो १ बजे पुनः बस्ने भएको छ । मंगलबार बस्ने वैठकमा विनियोजन विधेयकमाथि छलफल हुने जनाइएको छ ।