१४ बैशाख २०८१, शुक्रबार

ज्यान रहे व्यापार गरौंला, पसलको भन्दा कोरोनाको चिन्ता छ: नारायणगढका व्यवसायी

chitwan narayanghat pulchowk
फाइल फोटो

नारायणगढका व्यवसायीलाई यस वर्ष व्यापार तथा व्यवसाय भन्दा पनि रोगको चिन्ताले सताएको छ ।

गतवर्षको लकडाउनमा पसल खोल्न हतारिएका व्यवसायीहरु भने यसपटक व्यापार भन्दा पनि कोरोना संक्रमणले त्रासमा छन् । गत वर्ष कोरोना समान्य हो बेसार पानी खाए ठिक हुन्छ भन्ने सोचमा रहेका उनीहरु यसपटक भटाभट एकपछि अर्काे नारायणगढको व्यवसायीहरुले कोरोनाकै कारणले ज्यान गुमाएपछि थप चिन्तामा परेका हुन् ।

निषेधाज्ञाभर निरन्तर व्यवसायीको सम्पर्कमा रहेका उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले नारायणगढमा एकपछि अर्काे व्यवसायीले कोरोनाको कारणले ज्यान गुमाएपछि व्यवसायीहरु त्रासमा रहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ सबै व्यवसायी महामारीमा कोरोनाबाट जसरी पनि बच्नुपर्ने भएकोले व्यापार भन्दा ज्यानको सुरक्षा सबैको प्राथमिकतामा परेको छ । बजारमा दिनहुँ व्यवसायी संक्रमित हुनुको साथै ज्यान गुमाइरहेका छन् । यसपटकको दोस्रो लहर निकै खतरनायक भएकोले पनि व्यापार र व्यवसायतिर खासै व्यवसायीले चासो राखेका छ्रैनन् । सबै ढुक्कसँग घरमा बसेका छन् ।’ नारायणगढमा कोरोना संक्रमणकै कारणले तास व्यवसायी शिव प्रधान र कोल्ड स्टोर व्यवसायी प्रेमकुमार जोशीले ज्यान गुमाइसकेका छन् । त्यस्तै अझै पनि कतिपय व्यवसायीहरु अस्पतालमा नै उपचाररत रहेका छन् । उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले गत वर्ष पनि घरभाडा छुटमा उद्योग वाणिज्य संघले समन्वयकारी भूमिका खेलेको र यो वर्ष पनि निषेधाज्ञासमयको घरघाडा छुट गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कपडा व्यवसायी संघका उपाध्यक्ष निरजकुमार श्रेष्ठले यस वर्षको कोरोना संक्रमण निकै डरलाग्दो भएकोले हामी स्वतस्फूर्तरुपमा व्यवसाय बन्द गरेर बसेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ सबैले खोप नलाएसम्म व्यवसाय नै नचल्ने पो हो कि भन्ने चिन्ता छ । बजारमा जाँदा घरपरिवारका अन्य व्यक्तिहरुलाई पनि संक्रमण सर्छ कि भन्ने चिन्ता हुन्छ । अघिल्लो पटक सामान्य लागेको कोरोना यसपटक भयंकर जस्तो भएको छ ।’

गत वर्ष फोनबाट अर्डर आएका सामानहरु उपलब्ध गराउने गरेका व्यवसायीहरु यसपटक कोरोनाको त्रासले अर्डर लिन पनि सकेका छैनन् । अर्काेतिर काठमाडौँका ठूला डिलरहरुले पनि निषेधाज्ञाको यो समयमा सामानहरु पठाएका छैनन् । गत वर्ष लुकिछिपी भए पनि पसलको छेउमा बसेर सामान बेच्ने व्यवसायीहरु यसपटक घर छोडेर बजार नै गएका छ्रैनन् ।

नारायणगढ पुलचोकको शुभकामना इलेक्ट्रोनिक्सका प्रोपाइटर सूर्यभक्त अधिकारी बिगत ३७ दिनमा एक दिनमात्र बैँकको कामले नारायणगढ पुगेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ ज्यान रहे नै व्यापार हुने हो । अहिले सबै व्यवसायीले व्यापार भन्दा ज्यान जोगाउन लागेका छन् । फोनबाट अर्डर आएका सामानहरु पनि बिक्री गर्न सकेका छैनन् ।’ अधिकारीले गत वर्ष अर्डरबाट पनि राम्रै व्यापार भएको अनुभव सुनाए । उनले भने, ‘ बजारमा मानिस कोही निस्केकै छैनन् । काठमाडौँका डिलरहरुले पनि सामान पठाएका छैनन् । चितवनको निषेधाज्ञा र बढ्दो कोरोना संक्रमणले पसल जाऊ भन्ने नै लागेको छैन ।’