११ बैशाख २०८१, मंगलवार

उपेन्द्र यादव जनकपुरमा, प्रदेश २ सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी

Upendra yadav

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव प्रदेश २ मा सत्ता समीकरण परिवर्तन गर्न रातारात जनकपुर आइपुगेका छन् ।

तत्कालीन राजपा र संघीय समाजवादी फोरमले प्रदेश २ मा सरकार बनाएको थियो । पछि दुवै पार्टी एकीकरणपश्चात् जसपा बन्यो । पछिल्लो सयम पुनः पार्टी दुई समूहमा विभाजित भएको छ । शुक्रबार महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भए लगत्तै उपेन्द्र यादव प्रदेश-२ मा सत्तासमीकरण परिवर्तन गर्न सक्रिय भएका हुन् । उनले प्रदेशमा पूर्व जसपाका मन्त्रीलाई हटाएर माओवादी केन्द्र र नेपाली कांग्रेसलाई ल्याउन छलफल सुरु गरेको बुझिएको छ । शुक्रवार यादवले काँग्रेस उपसभापति विमलेन्द्र निधीसँग भेट गरे । निधीले मुख्यमन्त्री दिएपछि मात्र सरकारमा सहभागी हुने बताएका थिए । शुक्रवारै कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतसँग छलफल गरेपछि काँग्रेस प्रदेश सरकारमा सहभागी हुन तयार भएको एक साँसदले बताए ।

केन्द्रमा बनेको गठबन्धन अनुसार उपेन्द्र यादव पक्षले माओवादी केन्द्रलाई पनि प्रदेश सरकारमा ल्याउने छलफल चलाएको छ । माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने बुझिएको छ ।माओवादीका एक सांसदले भने, ‘सरकारमा सहभागिताबारे छलफल भएको छ । तर मन्त्रालयको टुंगो लाग्न सकेका छैन ।’ तत्कालीन राजपाको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाउने मुख्यमन्त्री राउत निकट स्रोतले जनाएको छ । तत्कालीन राजपाबाटै सामाजिक विकास मन्त्री बनेका नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री बनेका रामनरेश राय यादव उपेन्द्र यादव समूहमा लागेपछि पद जोगिने भएको छ । मन्त्री साह र यादव जसपाका केन्द्रीय कार्यकारिणी सदस्य हुन् । साह राजेन्द्र महतो र यादव महेन्द्र राय यादवको कोटाबाट मन्त्री बनेका थिए ।

पूर्व राजपाका एक मन्त्री र तीन राज्यमन्त्रीलाई मात्र हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएपछि भागबण्डा मिलाउन उपेन्द्र यादवलाई सकस भएको छ । केही मन्त्रालय फुटाएर भएपनि कांग्रेस र माओवादीलाई सन्तुष्ट हुनेगरी सरकारमा ल्याउने विषयमा उपेन्द्र यादवले छलफल चलाएको स्रोतले जनाएको छ । कांग्रेस उपसभापति निधीले मुख्यमन्त्रीमा कांग्रेस हुनु पर्ने दावी गरेपनि लालबाबु राउत नै निरन्तरता पाउने देखिएको छ । कांग्रेसमा पनि दुई खेमामध्ये रामचन्द्र पौडेल पक्षका सांसदहरू तत्काल राउतलाई नै निरन्तरता दिने पक्षमा उभिएको स्रोतको दावी छ । हुन त मन्त्री सोनलले पनि कांग्रेसलाई आफ्नो पक्षमा पार्न लबिङ नगरेका होइन् । तर केन्द्रमा बनेको तालमेलको हिसावले मन्त्री सोनलले गरेको आग्रह अनुसार महन्थ ठाकुर पक्षसँग सहकार्य नहुने काँग्रेसका एक सांसदले बताए । उनी भन्छन्, ‘पछि के हुन्छ भन्न सकिन्न । तर अहिले उपेन्द्र यादव पक्षसँग नै सहकार्य हुन्छ ।’