
निर्वाचन आयोगले जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको निष्कासको कारवाही आधार नपुगेको बताएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुबै जनाको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको बताए । दुवै अध्यक्षले एकले अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका पत्र राजनीतिक दलसम्बन्धी नियमावली अनुरुप नभएकोले उनले बताए ।
आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न भनेको प्रवक्ता श्रेष्ठले बताए ।
अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । तर उनले केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले हस्ताक्षर माग गरिएको श्रेष्ठले बताए ।
मंगलबार अध्यक्ष उपेन्द्र यादवले पनि अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । कारबाहीको निर्णय गर्दा यादवले केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षरसहित बुझाएकाले उनीसँग हस्ताक्षर माग नगरिएको श्रेष्ठले जानकारी दिए ।
दुबै पक्षले एक अर्का पक्षलाई कारबाही गरेर दलको दर्ता कितावमा रहेको विवरण सच्याउन पनि आग्रह गरेका थिए ।