१३ बैशाख २०८१, बिहीबार

एमाले स्थायी कमिटी बैठक स्थगित,पार्टी एकताको लागि निष्कर्षमा पुग्न बाँकी

uml
फाइल फोटो

नेकपा एमालेको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज स्थगित बैठक भोलि अपरान्ह ४ बजेलाई बोलाइएको छ । नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको एमालेले जनाएको छ ।

मंगलबार पनि एमाले स्थायी कमिटी बैठक भएको थियो । बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको कमिटी यथावत राखेर अघि बढ्नु पर्ने माधव कुमार नेपाल पक्षधर नेताहरुको अडान छ ।

पार्टी एकता जोगाउन प्रयासमा ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरू निरन्तर संवादमा जुट्दै आएका छन् । सोमबार राति पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा दोस्रो तहका नेताहरूबीच करिव चार घन्टा छलफल भएको थियो ।

सोही छलफल सकारात्मक भएको बिफ्रिङपछि ओलीले एमालेमा स्पष्टीकरण सोधिएका घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडाको थप कारबाही रोकेका थिए ।

यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो । पार्टी एकता जोगाउन ओली र नेपालले गत जेठ २ गते १० सदस्यीय कार्यदल गठन गरेर विवाद समाधानको प्रयास भइरहँदा जेठ ७ मा भएको राष्ट्रियसभा उपचुनावमा रामबहादुर थापा ‘बादल’ लाई हराउन नेपाल पक्षीय सांसदले ‘अन्तरघात’ गरेपछि एकता प्रयास भाँडिएको थियो ।