११ बैशाख २०८१, मंगलवार

पार्टी एकता कायम राख्नु प्रधानमन्त्री ओलीको सपना हो: उपप्रधानमन्त्री पोखरेल

ishowr pokhrel
फाइल फोटो

नेकपा एमालेका महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता नजोगिनुमा तीन प्रवृत्तिले भूमिका खेलेको बताउनु भयो ।

अनेरास्ववियुको भर्चुअल प्रशिक्षणमा उपप्रधानमन्त्री पोखरेलले एमालेभित्र रहेको अन्तरविरोधमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेल्न खोजेपछि पार्टी एकता जोगाउन नसकिएको पोखरेलले बताउनु भयो । ‘पार्टीभित्र गुटगत प्रवृत्ति विकास हुँदै आएको थियो । प्रचण्ड ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिमा लाग्नुभयो,’ पोखरेलले भन्नु भयो ।

पार्टी एकतालाई प्रचण्डले एमालेको संगठन कब्जा गर्ने उद्देश्यका रुपमा लिएको उपप्रधानमन्त्री पोखरेलले आरोप लगाउनु भयो । ‘पवित्र उद्देश्यले गरिएको एकतालाई हस्तिनापुर कब्जा गर्ने रुपमा लिइयो,’ उहाँले भन्नु भयो ।

प्रचण्डको पार्टी कब्जा गर्ने चाहना, माधव नेपालको गुटगत स्वार्थ र वामदेम गौतमको प्रधानमन्त्री बन्ने चाहनाले नेकपाको एकता जोगिन नसकेको पोखरेलले बताउनु भयो । ‘बामदेव गौतमलाई के थियो भने, प्रचण्डले प्रधानमन्त्री नभएका एक जनालाई बनाउँछु भन्नुभएको थियो । उहाँमा आशा पलाएको थियो,’ पोखरेलले भन्नु भयो ।

तर आफू लगायत नेताहरुलाई एकता विरोधी भनेर प्रचार गरिएकोमा पोखरेलले आपत्ति जनाउनु भयो । ‘मलगायत केही साथीहरुलाई एकता विरोधी हुन् भनेर चित्रित गर्ने प्रयास गरियो । तर एकताका बेला आएका केही विषाक्त चीजहरु झाँगिएर गयो,’ उहाँले भन्नु भयो ।

राजनीतिक स्थिरता कायम गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनाले पार्टी एकता भएको पनि पोखरेलले बताउनु भयो ।