१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना सङ्क्रमणः निको हुने दर ८० प्रतिशत बढि

corona hospital

नेपालमा कोभिड–१९ सङ्क्रमण मुक्त हुने दर लगातार बढ्दै गएको छ । गएको २४ घण्टामा ६ हजार आठ सय ९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले निको हुने दर ८० दशमलव २ प्रतिशत पुगेको छ ।

यस्तै गएको २४ घण्टामा २० हजार एक सय ६५ जनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १७ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार दुई सय ८५ जनामा र तीन हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठ सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अब नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ६६ हजार पाँच सय ८७ पुगेको छ । अहिले नेपालमा एक लाख चार हजार सात सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।