१५ बैशाख २०८१, शनिबार

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओलीको दूत बनेर गएको पढ्दा, सुन्दा हाँसो उठ्छः ईश्वर पोखरेल

ishowr pokhrel
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नभटेको दाबी गरेका छन् ।

‘केपी ओलीको दूत बनेर प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि मनाउन गएको कुरामा कुनै सत्यता छैन । त्यस हिसाबले छलफल भएको पनि छैन । यसबीचमा मैले प्रचण्डलाई भेटेको पनि छैन । यस्ता कुरा पढ्दा, सुन्दा पनि हाँसो उठ्छ । सामान्य कुरालाई किन यसरी उछालिन्छ ?’ भन्दै पोखरेलले प्रतिप्रश्न गरे ।

पाँच दलीय गठबन्धनलाई फुटाउन एमाले नलागेको पनि उनले स्पष्टीकरण दिए । पोखरेलले भने, ‘निर्वाचनमा जनताले जुन ठाउँमा बस्न भनेका छन्, एमाले त्यसलाई स्वीकारेर प्रतिपक्षमा बस्छ । हामी गठबन्धन फुटाउन हातमा ह्याम्मर लिएका बसेका छैनौं । आफ्ना कर्म वा कुकर्मका आधारमा गठबन्धनको भविष्य आफैं फैसला हुन्छ ।’

वाम गठबन्धन बन्ने वा वाम सरकार बनाउन एमालेको रुचि नभएको पनि पोखरेलले बताए । उनले थपे, ‘राजनीतिमा सबै सम्भावनाका द्वार खुलै हुन्छन् ।

नेपालमा जस्तासुकै कटुता र तिक्तता हुँदा पनि संवाद चलिरहन्छन् । तर यस्तो उद्देश्य राखेर हामीले कसैलाई प्रस्ताव गरेका छैनौं । गठबन्धन १०-१५ वर्षसम्म टिकाउँछौं भनेको होइन ? गठबन्धन टिकाए भो, सरकार चलाए भो नि ।’