७ बैशाख २०८१, शुक्रबार

उज्जवल थापाको निधनले नेपाली राजनीतिमा एउटा आशाको दियो निभ्यो

MG 1005 ConvertImage scaled

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको मंगलबार निधन भएको छ । उनी नेपाली राजनीतिमा फरक विचार र शैलीका कारणले चर्चित रहेका थिए । देशका पुराना दल र नेताहरुप्रति आमनगरिकमा वितृष्णा बढ्दै गएको समयमा उनले वैकल्पिक राजनीतिक शक्तिको अवधारणा ल्याएका थिए । देशभर संगठन निर्माणकै क्रममा विवेकशील साझा पार्टी रहेको समयमा यसको संस्थापक मध्येका एक थापा अस्ताएका छन् । उनलाई देश तथा विदेशबाट माया र सद्भाव प्राप्त भए पनि अन्तत आशाको दीप निभेको छ ।

कोरोना संक्रमित भएर दुई सातादेखि उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाका लागि २४ घण्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको थियो । चिकित्सकहरूको सल्लाहमा भेन्टिलेटरभन्दा अत्याधुनिक उपचार आवश्यक देखिएपछि त्यसका लागि आर्थिक सहायता माग गर्दा उक्त रकम संकलन भएको हो । संकलितमध्ये आधा रकम विदेशमा बस्नेहरूबाट र बाँकी आधा नेपालभित्रैबाट उठेको थियो । छोटो समयमा यति धेरै रकम उठ्नुले पनि उनको नेपाली समुदाय माझ रहेको लोकप्रियतालाई संकेत गर्छ । विदेशमा बस्नेहरूबाट ’गोफन्डमी’ मा खोलिएको खातामा २२ हजार २ सय ९१ अमेरिकी डलर र नेपाली बैंक खातामार्फत् २६ लाख ५० हजार रुपैयाँ संकलन भएको थापाको परिवारबाट शनिबार जारी विज्ञप्तिमा उल्लेख गरेका थिए । अहिलेलाई यो रकम पर्याप्त भएकाले आर्थिक संकलन बन्द गरिएको परिवारले विज्ञप्तिमा जनाएका थिए ।

करिब एक दशकदेखि राजनीतिमा संलग्न रहँदै आए पनि उज्ज्वल प्रमुख राजनीतिक पार्टीमा आबद्ध लोकप्रिय नेता होइनन् । उनी राजनीतिमा संलग्न त छन्, तर उनको उपस्थिति प्रत्यक्ष देखिने गरी बनिसकेको छैन । उनको पार्टीले पहिले विवेकशील नेपाली दलका रूपमा र पछि विवेकशील साझा पार्टीका रूपमा चुनावमा भाग लिँदा पनि खासै सफलता पाउन सकेन । यति हुँदाहुँदै उनलाई कोरोना संक्रमण भयो भन्ने खबरले सामाजिक सञ्जालहरूमा सुस्वास्थ्य कामनाका सन्देशको बाढी ल्यायो । उनको उपचारका लागि आर्थिक सहयोग मागेपछि त सम्भवतः विगतमा कहिल्यै नउठेको रकम संकलन भएको थियो । यसले नेपालमा वैकल्पिक राजनीतिक दलप्रति जनताले देखाएको माया र सद्भावलाई बुझाउँछ ।

थापाप्रति सद्भाव व्यक्त गर्ने वा आर्थिक सहयोग गर्नेहरूमा पार्टीका कार्यकर्ता, शुभेच्छुक वा समर्थक मात्र छैनन्। विवेकशील साझासँग नजोडिएका अपरिचित व्यक्ति र समाजको विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूबाट उल्लेख्य रूपमा आर्थिक सहायता संकलन भएको छ । पुराना राजनीतिक दलहरूका तौरतरिकाबाट वाक्क भएर उनले एउटा वैकल्पिक र सुसंस्कृत राजनीतिक पार्टी निर्माण हुनुपर्छ भनी विवेकशील नेपाली दल स्थापना गरेका थिए। उनी विवेकशील नेपाली दललाई एउटा यस्तो मञ्च बनाउन चाहन्थे, जहाँ उभिएर युवा पुस्ताले मूलधारको राजनीतिप्रति आफ्नो मनमा गुम्सेका असन्तुष्टि पोख्न सकून् । राजनीतिक प्रणालीमा देखिएका कमी–कमजोरी कसरी सच्याउने भन्नेबारे चर्चा–परिचर्चा गर्न सकून्। वैकल्पिक राजनीतिक संस्कृतिको अभ्यास गर्न सकून्।

आपसी झगडा, कलहमा ठूला दलहरु अलमलिएकोले पनि धेरै युवा पुस्तामा पुराना राजनीतिक दलहरुप्रति वितृष्णा बढ्दै गएको देखिन्छ । युवा पुस्तालाई राजनीतिको फोहोर सफा गरेर मात्र सुसंस्कृत पद्धति निर्माण गर्न सकिन्छ भन्ने उज्ज्वलले सबैलाई सन्देश दिएका छन्। थापाको व्यक्तित्व पनि सरल र शालिन थियो । कुनै तामझाम थिएन । उनी सार्वजनिक रूपमा धेरै नदेखिए पनि धेरैका मनमा बसेका थिए । अहिले उनको पक्षमा उर्लिएको सद्भावले त्यही झल्काएको छ । आर्थिक र नैतिकरुपमा देश तथा विदेशका नेपालीको साथ र सहयोग पाउँदा पाउँदै पनि डाक्टरहरुले उनलाई बचाउन सकेनन् ।