१५ चैत्र २०८०, बिहीबार

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विवेकशील साझाले २८ बर्षिय युवालाई उम्मेद्वार बनाउने

prabin kafle

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीले २८ बर्षिय युवालाई उम्मेद्वार बनाउने भएको छ । बैकल्पिक शक्तिको रुपमा हेरिएको विवेकशील साझाले २८ बर्षीय युवा इन्जिनियर प्रविन काफ्लेलाई उम्मेदवार बनाउने भएको हो । भरतपुर महानगरपालिका १० कटहरचोक निवासी काफ्ले मेकानिकल इन्जिनियरिङ हुन् ।

पार्टीको जिल्ला कमिटीले काफ्लेलाई मेयरमा उठाउने सर्वसम्मत निर्णय गरेर केन्द्रमा सिफारिस गरेको छ । भारतको बेङ्लोरमा मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका काफ्ले चितवनमै बसेर व्यवसायीक रुपमा काम गरिरहेका छन् । विवेकशील साझाले भरतपुर महानगरपालिकामा पहिलोपटक मेयरको उम्मेदवारी दिन लागेको हो । यसअघि संघिय निर्वाचनमा विवेकशील साझाबाट उम्मेद्वारी दिइएको थियो ।

पार्टीको स्थापना कालदेखि शुभेच्छा राख्ने काफ्ले विगत तीन बर्षदेखि सक्रिय भएर काम गरिरहेका छन् । पुरानो सोच र नेतृत्वबाट नयाँ नेपालको परिकल्पना गर्न नसकिने भन्दै बकल्पिक बाटो खोज्नुपर्ने धारणासहित विवेकशील साझामा लागेको काफ्लेले बताए । उनले भरतपुरलाई प्रविधिमैत्री, संस्कृतिमैत्री व्यवस्थित सहरको रुपमा विकास गर्न आफूले उम्मेद्वारी दिन लागेको बताए । उनले निःशुल्क शिक्षा,स्वास्थ्य,खानेपानी उपलब्ध गराउने एजेण्डा प्राथमिकताका साथ राखेको बताए । उनले व्यवस्थित पूर्वाधार निर्माण र वातावरणमैत्री कामलाई आफूले जोड दिएको उल्लेख गरे ।