१४ बैशाख २०८१, शुक्रबार

चितवनमा आज एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, १४१ जना संक्रमित थपिए

corona death
फाइल फोटो

चितवनमा विगत २४ घण्टामा कोरोना संक्रमणको कारणले ११ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ४ जना, पुरानो मेडिकल कलेजमा ३ जना, क्यान्सर अस्पतालमा १ जना र अन्य अस्पतालमा २ जनाको कोरोना संक्रमणका कारणले निधन भएको छ ।
चितवनका अस्पतालहरुमा २५२ जना आईसीयूमा, ५९ जना भेन्टिलेटरमा, ६० जना एचडीयूमा उपचाररत छन् । विगत २४ घण्टामा ५७ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी आज चितवनमा १४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकाका ११० जना, खैरहनीका ६, माडीका ५ जना, रत्ननगरका ८, राप्तीका ४, कालिकाका ६ र इच्छाकामना गाउँपालिकाका २ जना रहेका छन् । योसँगै चितवनमा संक्रमितको संख्या १२ हजार ६१७ पुगेको छ ।