२९ बैशाख २०८१, शनिबार

संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तिका रूपमा प्रयोग गरेः सभापति देउवा

sher bahadur deuwa scaled
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तिका रूपमा आफूअनुकूल प्रयोग गरेको भन्दै विरोध गरेका छन्।

शनिबार एक विज्ञप्ती जारी गर्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्री अनैतिक रुपमा अघि बढेको भन्दै त्यसको विरोध गरेका हुन् । राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक भएको देउवाको भनाइ छ। उनले लोकतन्त्रवादी शक्तिलाई संविधान रक्षाका लागि एकजुट हुन आह्वान गरेका छन्।

यस्तै गणतन्त्र, संविधानको रक्षा गर्न राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक तथा अलोकतान्त्रिक कार्यका विरूद्ध राजनीतिक र न्यायीक लडाइँ लड्ने प्रतिवद्धतासमेत देउवाले जनाएका छन्।

संविधान बमोजिम राष्ट्रपतिले तत्काल आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गरेको देउवाको भनाइ छ । यसको सट्टा अल्पमतमा परिसकेका र बहुमत जुटाउन नसकेका केपी शर्मा ओलीलाई नै निरन्तरता दिइएकोमा देउवाको विरोध छ।

‘मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमतसहित १४९ जना सांसदहरूको हस्ताक्षरसहित तत्काल प्रधानमन्त्रीमा नियषुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयो। बरू एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्कोपटक बहुमत देखाउन नसक्ने स्वयम घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन्,’ देउवाले आज विज्ञप्ति निकालेर भनेका छन्।

गएराति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै चुनावको मिति घोषणा गरेपछि विपक्षी दलहरूले विरोध गरिरहेका छन्।