१४ बैशाख २०८१, शुक्रबार

देउवालाई प्रधानमन्त्री बनाउन भनेर बुझाइएका एमालेका कतिपय सांसदका हस्ताक्षर दुरुपयोग गरिएकोबारे राष्ट्रपतिलाई लिखित जानकारी

sital niwas

नेकपा एमालेले माधव नेपालसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर बुझाइएका एमालेका कतिपय सांसदका हस्ताक्षर किर्ते गरिएको भन्दै नेकपा एमालेले राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।

एमाले निर्वाचन विभागका प्रमुख तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले सांसदहरुको हस्ताक्षर दुरुपयोग भएका र झुक्याएर हस्ताक्षर गराइएका विषयहरु आएपछि डकुमेन्टहरु राष्ट्रपति कार्यालयमा बुझाइएको बताए ।

राष्ट्रपतिले प्रधानमन्त्रीको दावी गर्ने दुवै पक्षका कानुनी आधारहरु अध्ययन गरिरहेकाले एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोगको विषय जानकारी गराइएको उनले बताए ।

एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोले एमालेका कुनै पनि सांसदको नाममा विपक्षी दलले गरेको दावीलाई मान्यता नदिन अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रमा आग्रह गरिएको छ । हस्ताक्षर दुरुपयोगको छानबिन भइरहेको र कारवाहीको प्रक्रियामा रहेको जानकारी समेत दिइएको छ ।