१३ बैशाख २०८१, बिहीबार

मन्त्रालयले पठाएको डाक्टरलाई फेसबुकमा खोजी

maxresdefault 1 750x375 1

महोत्तरीको जलेश्वर अस्पतालमा अलपत्र परेको भेन्टिलेटर सञ्चालनका लागि प्रदेश २ का सामाजिक विकास मन्त्रालयले काजमा पठाएको डाक्टर नपुगेपछि फेसबुकमा खोजी हुन थालेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले मंगलवार मन्त्रालयले पठाएको डाक्टरहरु नआएको भन्दै फेसबुकमा स्टाटस लेखे । उनका अनुसार मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरबाट ३ डाक्टरलाई काजमा पठाएको छ । तर कोही पनि सम्पर्कमा छैन । हाजिर हुन नआएपछि खोज्न थालेको उनको भनाई छ । मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा. रविरंजन प्रधान, एनेस्थेसिया शैलेन्द्र कुमार यादव र मेडिकल अधिकृत डा. सन्तकुमार यादवलाई जलेश्वर अस्पतालमा काजसरुवा गरेको छ । डा. रविरंजन र एनेस्थेसिया शैलेन्द्रलाई गत वैशाख २८ तथा मेडिकल अधिकृत डा. सन्तलाई वैशाख २७ गते नै मन्त्रालयले पत्र काटेको थियो । प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादवले मन्त्रालयले काज सरुवा गरेका तीनैजना हिडिसकेको प्रतिक्रिया दिए । उनले भने, ‘यहाँ त ड्यूटी हटाइ सकेका छौं । जलेश्वर अस्पतालमा हाजिर भएको छैन भने सम्पर्क गर्नपर्यो नी ।’ उनले कहिलेदेखि प्रादेशिक अस्पतालमा ड्युटी गर्न छाडेको कुरा हेरेर मात्र भन्न सकिने बताए ।

डाक्टर नपुगेपछि जलेश्वर अस्पतालमा उपचाररत कोभिडका विरामीहरु भने समस्यामा परेका छन् । अस्पतालमा ५ भेन्टिलेटर छ, तर दक्ष जनशक्ति नभएपछि प्रयोग विहिन अवस्थामा रहेको छ । त्यहाँका विरामीको अवस्था विग्रिएर भेन्टिलेटरको आवश्यता परेमा बाहिर पठाउने गरेको अस्पतालले जनाएको छ ।