७ बैशाख २०८१, शुक्रबार

राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएको १९ महिनामा गोकुल बाँस्कोटा सिंहदरबारबाट बाहिरिए

Gokul Baskota

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको जानकारी दिएका हुन् ।

सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिशन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै तत्काल उनलाई बर्खास्त गर्न माग गरेपछि सभामुख सापकोटाले सो जानकारी दिएका हुन् ।

सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त बनेको १९ महिनामा गोकुल बाँस्कोटा सिंहदरबारबाट बाहिरिएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् ।

२०७४ चैत २ गते केपी ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीबाट इन्ट्री पाएका बाँस्कोटा त्यसको १४ महिनापछि मन्त्रीमा बढुवा भएका थिए ।

बाँस्कोटा प्रधानमन्त्रीको मुख्य सहयोगी भएकै कारण मन्त्रीमा बढुवा भएको त्यतिबेला चर्चा भएको थियो ।

आफ्नो अभिव्यक्तिका कारण बेलाबेला चर्चा र विवादमा समेत आउने गरेका उनी सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड बढी कमिसन मागेको अडियो बाहिरिएपछि थप विवादमा तानिएका थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे उनले स्वीस कम्पनीका नेपाली एजेन्टले कमिसनको ‘डिल’ गरेको एउटा अडियो सार्वजनिक भएको थियो । सो अडियोपछि चौतर्फी आलोचित बनेका मन्त्री बाँस्कोटा प्रधानमन्त्रीको निर्देशनपछि राजीनामा दिने निश्कर्षमा पुगेका हुन् । उनले प्रधनमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा पत्र बुझाइसकेका छन् ।

आजै प्रधानमन्त्री ओलीले आफू भ्रटाचारमा संलग्नमाथि निर्मम बन्ने र त्यो व्यवहारमा देखिएको पनि बताएका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्रीले भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्‍याए ।

पछिल्लो समय बाँस्कोटालाई प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिएका थिए । प्रधानमन्त्रीले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि रिक्त रहेको स्थानमा बाँस्कोटालाई जिम्मेवारी दिएका थिए ।

गत पुस १५ गतेमात्रै बाँस्कोटाले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकोमा त्यसको २ महिनापनि बित्न नपाउँदै सिंहदरबारबाटै बाहिरिन पुगेका हुन् ।

बाँस्कोटाले ओली सरकारमा मन्त्रीको रुपमा लगभग १९ महिना र राज्यमन्त्रीको रुपमा १४ महिना बिताए ।

बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि दुई मन्त्रालय रिक्त भएका छन् । बाँस्कोटाले सम्हाल्दै आएका सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय रिक्त भएका हुन् ।