७ बैशाख २०८१, शुक्रबार

वीरगञ्जमा २४ घण्टामा १३ संक्रमितको मृत्यु

corona 4
फाइल फोटो

वीरगञ्जमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

शनिबार बिहानदेखि आइतबार बिहानसम्मको रिपोर्ट अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा सो संख्यामा संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएका छन् । मृत्यु हुनेमध्ये नारायणी अस्पतालमा मात्रै ८ जना रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । यसबाहेक वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ । मृतकमध्ये पर्साका ४, बाराका ७, रौतहटका १ र एक जना भारतीय नागरिक पनि छन् ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–२५ सिसहनिया बस्ने ३८ वर्षीया महिला छिन् । वैशाख २५ गते श्वासप्रश्वासमा समस्या देखिएपछि नारायणी अस्पतालमा भर्ना भई पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण देखिएको थियो । आइसोलेसन वार्डमा उपचारको क्रममा आइतबार बिहान ४ः१० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । बाराको सुवर्ण गाउँपालिका–२ कबहीदरबार बस्ने ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख ३० गते बिरामी भई नारायणी अस्पताल भर्ना भई सोही दिन गरिएको एन्टीजीन परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा आइतबार बिहान २ः१५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणबाट बाराको निजगढ नगरपालिका–७ बस्ने ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३० गते उपचारका लागि अस्पताल भर्ना भएका उनको शनिबार पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा बेलुका ६ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । त्यस्तै, बाराको प्रसौनी गाउँपालिका–५ प्रष्टोकाका ४५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या देखिएपछि वैशाख १९ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । दुईदिन पछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसन वार्डमा राखेर उपचार भईरहेकोकोमा शनिबार राति पौने ११ बजे उनको मृत्यु भएको थियो ।

नारायणी अस्पतालमा रौतहटको बंकुलका ३५ वर्षीया महिलाको मृत्यु भएको छ । शनिबार बिहान पौने १२ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख ३० गते अस्पतालमा भर्ना भएकी उनको सोही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । नारायणी अस्पतालमै वीरगञ्ज–१५ भिश्वा बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २६ गते एन्टिजीन परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा शनिबार अपराह्न ४ बजे उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमै पर्साको जगरनाथपुर गाउँपालिका–६ सण्ठीका का ८६ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २९ गते अस्पतालमा भर्ना भएका उनमा भोलिपल्ट गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड निमोनियाले ग्रसित उनको शनिबार बिहान २ बजे मृत्यु भएको थियो । वीरगञ्जको नारायणी अस्पतालमा बारागढी नगरपालिका–२ बस्ने ४२ वर्षीय पुरुषको शनिबार बिहान ११ः०५ बजे मृत्यु भएको छ । वैशाख २९ गते विरामी भई उपचारका लागि नारायणी अस्पतालमा लगिएको थियो । सोहीदिन एन्टीजीन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाराको प्रसौनी गाउँपालिका–५ बेलहिया प्रष्टोका बस्ने २५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या देखिएपछि वैशाख २६ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । वैशाख २९ गते पीसीआर परीक्षणका लागि स्वाब नमुना पठाइएको थियो । भोलिपल्ट पोजेटिभ रिपोर्ट आएपछि अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार चलिरहेको थियो । उपचारको क्रममा शनिबार बिहान ६ः१० बजे उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । बाराको कलैया उपमहानगरपालिका–४ बस्ने ६५ वर्षीय पुरुषलाई पनि बैशाख १५ गते श्वासप्रश्वासमा समस्या देखियो । उपचारका लागि नेशनल मेडिकल कलेजमा लगियो । दुई दिनपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । नेशनलले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालको वार्डमा उपचारको क्रममा आईतबार बिहान साढे १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराको जीतपुरसिमरा स्थित डाबर नेपाल कम्पनीमा कार्यरत ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । ज्वरो तथा श्वाोसप्रश्वासमा समस्य आई बैशाख १९ गते उनलाई वीरगञ्ज हेल्थ केयर हस्पीटलमा भर्ना गरिएको थियो । बैशाख २३ गते पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाब नमुनाको रिपोर्ट दुई दिन पछि आउँदा पोजेटिभ आएको थियो । उपचार कै क्रममा शनिबार दिउँसो पौने ३ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । वीरगञ्ज हेल्थ केयरमै पर्साको कालिकामाई गाउँपालिका–२ की ६५ वर्षीया महिलाको मृत्यु भएको छ । बैशाख २६ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वैशाख २७ गते अस्पतालमा भर्ना गरिएको थियो । शनिबार बिहान ८ बजे उपचार कै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाराको परवानीपुर गाउँपालिका– १ बस्ने ५६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख २७ गते श्वासप्रश्वास तथा ज्वरोको समस्या र पीसीआर पोजेटिभ रिपोर्ट सहित स्पर्स मल्टी स्पेस्यालिष्ट हस्पिटलमा भर्ना भएका थिए । आइसोलेसन वार्डमा उपचारको क्रममा शनिबार बिहान १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।