७ बैशाख २०८१, शुक्रबार

उपचुनावमा जित्लान बादलले ? राप्रपाले भोट हाल्ने, एमालेमा ह्वीप

rambadhur thapa badal
फाइल फोटो

राप्रपाले राष्ट्रियसभा उपचुनावमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएको छ ।

वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन् ।

राप्रपा शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्यक्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा बादललाई सहयोग गर्न भनेको जानकारी गराएका थिए ।

यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका एक नेताले जानकारी दिए । उनले भने, ‘औपचारिक निर्णय त भएको छैन । तर महामारीका कारण फेरि बैठक बस्न सम्भव नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको छ ।’

यस्तै नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार बादलको पक्षमा सूर्य चिन्हमा मतदान गर्न जनप्रतिनिधिलाई ह्वीप जारी गरेको छ ।

एमालेको माधवकुमार नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई उम्मेदवार बनाएको हो । यता एमालेमा विवाद समाधानको प्रयास अघि बढेका बेला अब पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा मतदान गर्न माधव पक्षका जनप्रतिनिधिलाई दबाब बढेको छ ।