१५ चैत्र २०८०, बिहीबार

‘स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका’

journalist corona

स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘विपत्मा कसरी जोगिएर पत्रकारिता गर्ने ’ विषयक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्राध्यापक रामकृष्ण रेग्मीले विगतमा सङ्क्रमणको समयमा गरेको पत्रकारितालाई आधार मानेर आगामी दिनमा पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।

“मुलुक स्वास्थ्य सङ्कटको अवस्थामा पुगेको समयमा नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ”, उहाँले भन्नुभयो । उहाँले कोरोना महामारीको एक वर्ष बितिसक्दा पनि हामीले पत्रकारिता क्षेत्रमा कसरी सुरक्षित बन्ने भनेर मापदण्ड अपनाउन नसक्नु दुःखद कुरा भएको बताउनुभयो ।

सञ्चारकर्मीले समाचार सङ्कलनका लागि ठूलो मिहिनेत गरे पनि समाचार सङ्कलनका लागि ठूलो चुनौती रहेको उहाँको भनाइ थियो । जोन हप्किन्स विश्वविद्यालय अमेरिकाका डा विशाल भण्डारीले मानसिक र शारीरिक स्वास्थ्यलाई बलियो बनाउँदै स्वास्थ्य मापदण्डलाई अपनाएर पत्रकारिता गर्न आम सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

“अस्पताल क्षेत्रमा समाचार सङ्कलन गर्न जाँदा पत्रकारले माक्स, स्यानिटाइजर लगाएर पत्रकारिता गर्दा आवश्यक सञ्चार सामग्रीलाई डी इन्फेक्शन गर्नुपर्छ”, उहाँले भन्नुभयो । अस्पतालमा समाचार सङ्कलन गर्दा चिकित्सक, नर्सलाई प्रश्न सोधेर डिस्टर्ब गर्न नहुने उहाँको भनाइ थियो ।

उहाँले सञ्चारकर्मीलाई अन्तर्वार्ता लिँदा बन्द कोठाभन्दा बाहिरी वातावरणमा लिन राम्रो हुने उल्लेख गर्नुभयो । डा भण्डारीले अहिलेको भेरियन्ट चाँडो फैलिन सक्ने तथ्याङ्क सार्वजनिक भएकाले सचेत रहेर पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारको पेशागत सुरक्षा र स्वास्थ्य सुरक्षाका लागि प्रतिष्ठान प्रदेशले निरन्तर आवाज उठाउँदै जाने बताउनुभयो । उहाँले कोभिडको महामारीका समयमा जोगिएर पत्रकारिता गर्न सबै श्रमजीवी पत्रकारलाई आग्रहसमेत गर्नुभयो ।