२६ बैशाख २०८१, बुधबार

प्रेस पासको दुरुपयोग गर्दै लागुऔषध ओसारपसार

presspass durupayog

प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसारपसारमा संलग्न एक युवक पक्राउ परेका छन् ।

शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको हो । उनलाई शनिबार बेल्डाँडी गाउँपालिकाको वैवाहस्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुडा र झिलमिलासँगै भारतीय एसएसबीसहितको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो ।

कञ्चनपुरमा निषेधाज्ञाका बेला प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसारपसारमा संलग्न भएको प्रहरीको भनाइ छ । उनको साथमा लागु औषध खैरो हिरोइन भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए ।

बरामद गरिएका सामानसहित जोशीलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको ऐरले बताए ।

उनीसँग रहेको ७ ग्राम खैरो हिरोइन, एउटा क्यामेरा, दुईवटा मोबाइल, विभिन्न बैँकका पाँच वटा चेक, एउटा एटीएम कार्ड, एउटा मोटरसाइकल र सुदूर खबरपत्रिकाको परिचयपत्र समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।