२० श्रावण २०७८, बुधबार

हेटौँडामा कोरोनाबाट थप एक महिलाको मृत्यु

corona death
फाइल फोटो

कोभिड–१९ सङ्क्रमणका कारण हेटौँडाकी एक महिलाको मृत्यु भएको छ । कोरोनाबाट हेटौँडा उपमहानगरपालिका–६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

ती महिलाको हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार भर्ना गरिएको थियो । मृतकको सोमबार नै पिसिआर परीक्षण गरिएको थियो ।

स्वाब दिएपछि उनी घर गएकी थिइन् । श्वासप्रश्वासमा समस्या आएपछि ति महिला उपचारका लागि पुनः अस्पताल भर्ना भएकी थिइन् । उनको मृत्यु पश्चात् पिसिआर रिपोर्ट पोजेटिभ आएको डा श्रेष्ठले बताउनुभयो । यो सँगै कोरोनाका कारण हेटौँडा अस्पतालमा चार जनाको मृत्यु भइसकेको छ ।

आइतबार राति हेटौँडा उपमहानगरपालिका–१ का ५५ वर्षीय पुरुष, सोमबार बाराका एक पुरुष र महोत्तरीकी एक महिलाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो ।