१६ चैत्र २०८०, शुक्रबार

अण्डाको मूल्य हालसम्मकै उच्च

eggs brown basket

अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो ।

लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मिडियमको रु ३४० पुगेको छ । यस अघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको हो ।

ओलीको भनाइमा चार वर्ष अघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६५ पुगेको थियो । यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य रु ३६० पुगेकामा केही दिनपछि घटेको थियो । एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन् । ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ ।

अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दा समेत लाभान्वित हुन नसकेको उहाँको भनाइ छ । सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य रु ११.५३ तय गरे पनि हाल लागत मूल्य बढेका कारण रु १२.३३ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताउनुहुन्छ ।

दानाको कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ । नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल यसअघि प्रतिकिलो रु ६४ मा आउने सामान्य भटमासको मूल्य बढेर रु १०८ पुगेको छ । त्यसैगरी हाइप्रो भटमास प्रतिकेजी रु ७० बाट बढेर रु ११५ पुगेको छ । तोरी, सूर्यमुखील गायतको पिना प्रतिकिलो रु सातले बढेको भन्दै उहाँले दानामा प्रयोग गरिने भिटामिन लगायतका सामग्रीमा शत प्रतिशतसम्म मूल्य बढेको जानकारी दिनुभयो । यस सँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलको भनाइ छ ।

लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुस्किल हुने भएकाले पटक पटक गरी रु सात प्रतिकिलो मात्रै मूल्य बढेको उहाँको भनाइ छ । हाल लेयर्स दानाको मूल्य सरदर रु ६० प्रतिकिलो पर्न आउँछ ।

देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले मात्रै थेग्ने दाबी गर्दै उहाँले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताउनुभयो । नेपालमा दुई हजार ७०० किसानले लेयर्स कुखुरा पाल्दै आएका छन् । यी फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायी बताउँछन् ।

नेपालमा कुखुरापालन क्षेत्रमा रु एक खर्ब २५ अर्बभन्दा बढी लगानी भएको व्यवसायीहरुको भनाइ छ ।