
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार विहान सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई भेट भएको छ।
भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउने उडानहरू प्रभावित भएका छन् । मौसममा आएको खराबीका कारण बिहानैदेखि ‘भीआईपी’ उडानसमेत प्रभावित बने । जसको प्रभाव विभिन्न राजनैतिक दलका शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्रीहरूलाई समेत पर्न गयो ।
पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई बिहान सात बजेको उडानका लागि त्रिभुवन विमानस्थल पुगे । तर उडान लामो समयसम्म भएन ।
त्यतिकैमा नेपालगञ्जको एक कार्यक्रममा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) त्रिभुवन विमानस्थलमा पुगे । उनी पनि ‘डिले’मा परे । जसको परिणामस्वरुप निकै लामो समयसम्म भेटघाट नभएका डा भट्टराई र अध्यक्ष प्रचण्डबीच अकस्मात भेट हुन पुग्यो ।

प्रचण्ड र भट्टराई बेग्लाबेग्लै कार्यक्रममा जान विमानस्थल पुगेका थिए। प्लेन उड्न ढिलो भएपछि प्रचण्ड र बाबुरामबीच विमानस्थलमा कुराकानी भएको थियो। बाबुरामले प्लेन उड्न ढिलो भएको भन्दै प्रचण्डसहित नेताहरूको फोटो ट्वीट गरेका छन्। उक्त फोटोमा गृहमन्त्री रामबहादुर थापा बादल पनि देखिन्छन्।
विमानस्थलमा प्रचण्ड, गृहमन्त्री राम बहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, सांसद कोमल ओलीलगायतको भेट भएको हो ।
बिहान ७ बजेको उडान रहेपनि उडानमा ढिलाइ भएको थियो । डा. भट्टराईले ट्वीटरमा भनेका छन्, ७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन! एयरपोर्टमा घण्टौं कुर्दाको फाइदा चाहीं सबै पार्टीमा छरिएका साथीहरूसँग भेटघाट र गफगाफ गर्न पाइने! नकारभित्र सकार भनेको शायद यही हो! अथवा चित्त बुझाउने मेसो!
