१३ बैशाख २०८१, बिहीबार

एउटै पार्टीको सरकारले २ वर्ष पूरा गर्नु उपलब्धि : प्रधानमन्त्री ओली

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले २ वर्ष पार गरेको अवसरमा प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले एउटै पार्टीको एउटै सरकारले २ वर्ष पूरा गर्नु पनि नेपालको सन्दर्भमा उपलब्धिको रुपमा लिनुपर्ने अवस्था आएको बताएका छन् ।

सरकार गठन भएको २ वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतका सरकार ७–८ महिनामा फेरिने अवस्थाको स्मरण गराए ।

‘आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीको सरकारले सत्ता सञ्चालन गरेको ७३१ दिन अर्थात् २ वर्ष पूरा भएको छ,’ सम्बोधनको शुरूमै प्रधानमन्त्री ओलीले भने, ‘लामो समयसम्म ७–८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकारले २ वर्ष पूरा गर्नु पनि एउटा उपलब्धिको रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ ।’

संसदको सम्बोधनमार्फत ओलीले आफू नेतृत्वको सरकारले २ वर्षमा गरेका उपलब्धिको फेहरिस्त सुनाउँदैछन् ।

२०७४ फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। बैठकमा अहिले प्रधानमन्त्री बोलिरहेका छन्।

शुक्रवार नै सम्बोधनको तयारी भएपनि राष्ट्रिय सभाका नेपाली कांग्रेस सांसद दूर्गाप्रसाद उपाध्यायको निधनका कारण अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित भएको थियो ।

नेकपा संसदीय दलका नेता ओली प्रधानमन्त्री भएको शनिवार २ वर्ष पुगेको छ । २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री बनेका थिए ।