१४ बैशाख २०८१, शुक्रबार

सेनाका चिकित्सक लिएर, चीनमा रहेका नेपाली विद्यार्थी लिन आज वाइडबडी जहाज जाँदै

nepal airlines

कोरोना भाइरसबाट प्रभावित चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थी ल्याउन सरकारले आज नेपाल बायु सेवा निगमको वाइडबडी जहाज पठाउँदैछ।

सेनाका चिकित्सक लिएर निगमको वाइडबडी ए-३३० जहाज चीन जाँदै छ। चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई जहाजमार्फत स्वदेश ल्याउन लागिएको हो।

नेपाल एयरलायन्सका प्रबन्ध निर्देशक गणेशबहादुर चन्दका अनुसार आज दिउँसो पौने ३ बजे विमान चीनतर्फ प्रस्थान गर्नेछ। त्यहाँ रहेका १ सय ८५ जना नेपाली लिएर जहाज आजै राति साढे २ बजे काठमाडौं आइपुग्ने उनले बताए। यसरी ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणका चारवटा भवनमा बनाइएको क्वारेन्टाइनमा राखिनेछ।

उनीहरुलाई दुई हप्तासम्म अभिभावक, आफन्तलगायत कसैसँग पनि भेट्न दिइँदैन। ल्याएको २४ घण्टाभित्र एक पटक कोरोना परीक्षण गरिनेछ। क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा फेरि अर्कोपटक कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आउनेजतिलाई घर पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पुर्‍याउने भन्नेबारे हिजो प्राविधिकसहितको टोलीले पूर्वाभ्यास गरेको थियो।