१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्रीको सम्बोधन स्थगन

प्रधानमन्त्रीको सम्बोधन स्थगन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा गर्ने तय भएको सम्बोधन स्थगन गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले आजको बैठकमा तय भएको कार्यतालिका प्रभावित भएको हो । शोक परेका बेला बैठकमा शोक प्रस्ताव पारित गरेर स्थगन गरिन्छ । सोहीअनुसार आज संसदमा अरु कार्यक्रम नहुने संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले आज दुई बजे आफ्नो कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धिबारे प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची थियो ।

आजका लागि तय भएको संसद बैठकको कार्यसूची भोलि बिहान ११ बजेका लागि सारिएको संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।