६ बैशाख २०८१, बिहीबार

प्रचण्डको भनाइप्रति नेपाली कांग्रेसले आपत्ति

Prachanda 1

तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले नै माओवादीलाई ‘ ठूला ठूला हमला गर्न’ सुझाएको बताएका थिए।

कोइराला र आफूबीच लगभग दिनदिनै कुराकानी हुने गरेको दाबी गर्दै प्रचण्डले भने, ‘कोइराला र मेरोबीच लगातारजस्तो, झन्डै झन्डै दिनदिनैजस्तो कुराकानी हुन्थ्यो। उहाँले हामीलाई फौजी आक्रमण अझै बढाइदिनुपर्‍यो, सदरमुकाम हान्नुपर्‍यो, अझै ठूल्ठूलो हमला गर्नुपर्‍यो भन्नुहुन्थ्यो। यो बढो विचित्रको थियो। यस्तो संसारमा कमै हुन्छ।’

दलहरूबीचको यस्तो विचित्र संयोगले नै दुई सय ५० वर्ष पुरानो राजतन्त्र अन्त्य भई देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको उनको भनाइ थियो।

प्रचण्डको उक्त भनाइप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा हिंसात्मक माओवादी द्वन्द्वलाई शान्तिपूर्ण अवतरण गराउन निर्णायक भूमिका खेल्ने कोइरालालाई अर्थहिन ढंगले विवादित बनाउन खोजिएको उल्लेख छ। उनले यसलाई ‘अराजनीतिक’ र ‘आपत्तिजनक’ भनेका छन्।

गिरिजाप्रसाद कोइराला जिउँदै छंदा बोल्न कसले रोकेको थियोे कमरेड र आज बोल्नुभो फौजी आक्रमण बढाउ उहाँले भन्नुभयोझ भनेर ?

शान्ति प्रक्रियामा नआएको भए माओवादी समाप्त हुन्थ्यो स्विकार्नु भएछ तर सेफ ल्याण्डिङको संयोजन गर्ने नेताप्रति विवादास्पद अभिव्यक्ति किन @cmprachanda ?

‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्नुपर्‍यो भनेर गिरिजाप्रसाद कोइरालाले यदि दाहाललाई साँच्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जीवित छँदा नै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्य तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ।’