१३ बैशाख २०८१, बिहीबार

वाग्मती सरकारद्वारा १० जिल्लामा प्रहरी चौकी भवन निर्माण

bagmati province

वाग्मती प्रदेशको उपत्यकाबाहेक १० जिल्लाको शान्ति सुरक्षा सुव्यवस्थित तुल्याउने उद्देश्यले प्रदेश सरकारको तर्फबाट ४६ वटा प्रहरी चौकी भवन निर्माण गर्ने क्रममा हाल ३४ भवनको निर्माण कार्य सम्पन्न भएको वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज जनाएको छ ।

मन्त्रालयले बाँकी १४ वटा प्रहरी चौकीको भवन यसै चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गरी सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको पनि जनाएको छ ।

प्रदेशको १० वटा जिल्लामा ४६ वटा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय भवन निर्माणका क्रममा वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयकोतर्फबाट रु ९३ करोड २२ लाख ७३ हजार रकम विनियोजित गरिएको मन्त्रालयका प्रवक्ता पेशल पोखरेलले जानकारी दिनुभयो । मन्त्रालयका सचिव मदन भुजेलले प्रदेशको विभिन्न जिल्लाको संवेदनशील शहरमा अत्याधुनिक प्रविधिको सिसिटिभी जडान गर्ने क्रममा सो मन्त्रालयले बोलपत्र आह्वान गरिसकिएको बताउनुभयो ।

उहाँले प्रदेशको सिन्धुली, चितवनको नारायणगढ–मुग्लिङ, धादिङको नौबिसे, मकवानपुरको हेटौँडा र चुरियामाई, काभ्रेको धुलिखेल, नुवाकोटको ककनी (त्रिशूली) क्षेत्रमा सिसिटिभी जडान गर्ने क्रममा पूर्वाधार निर्माण भइरहेको स्पष्ट पार्नुभयो । सचिव भुजेलले चालू आर्थिक वर्षको असार मसान्त भित्रै प्रदेशको १० जिल्लामा थप २१ प्रहरी चौकी भवन निर्माण कार्य अन्तिम चरणमा पुग्ने र असारको पहिलो हप्तामा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा उक्त भवन हस्तान्तरणका लागि तयारी भइरहेको जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा रामेछापको एक स्थानीय तहमा आपसी जग्गाका विषयमा विवाद हुँदा एउटा इलाका प्रहरी कार्यालय भवनको निर्माण कार्य अहिले स्थगन राखिएको छ ।