fbpx
३ जेष्ठ २०७८, सोमबार

एमालेका ३२ सांसदलाई स्पष्टीकरणको जवाफ दुई दिनभित्र पेश गर्न निर्देशन

नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपाल सहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो ।

सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको पत्र आजै ती नेतालाई पठाइएको छ ।

उहाँका अनुसार दुई दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन दिइएको छ । उहाँहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) (१) देखि (७) र (१२) र (१४) मा भएका व्यवस्था विपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ ।

उहाँका अनुसार स्पष्टीकरण सोधिनेमा पूर्वप्रधानमन्त्री नेपाल र झलनाथ खनाल सहित भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत रहनुभएको छ ।

यसअघि पार्टीले नेता नेपाल सहित, रावल, भुसाल र पाण्डेलाई छ महीनाका लागि पार्टीबाट निलम्वन गरेको थियो ।