६ बैशाख २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन अन्त्य

unnamed 1

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन(हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ ।

प्रदेश सभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सातौँ अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्नुभएको हो । गएको माघ २६ गते शुरु भएको यो अधिवेशन अन्तर्गत २० दिनमा ३१ पटक बसेको बैठकको कारवाही १७ घण्टा १८ मिनेट सञ्चालन भएको थियो । सातौँ अधिवेशनमा प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको बीउ विजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयक पारित भएको छ ।

यसैगरी प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित भएको छ ।

दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको पर्यटन लगायत विधेयक विचारधीन रहेका छन् । अधिवेशनको अन्तिम दिन आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको तर्फबाट सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेश सभाका सदस्य अमबहादुर साउद, वीरमान चौधरी, गोविन्दराज बोहरा र मालामति कुमारी राना थारुले भाग लिनुभएको थियो ।

प्रदेशसभाको एक पद रिक्त सातौँ अधिवेशनको अन्त्य हुने अघिल्लो दिन सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य झपटबहादुर बोहराको पद रिक्त भएको विषय जानकारी दिइएको थियो ।

सभामुख थापाले नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्य बोहराले दल त्याग गरेको सम्बन्धी सूचना प्रदेश सभा सचिवालयमा दर्ता भए अनुसार नेपालको संविधानको धारा १८० तथा राजनीतिक दल सम्बन्धी ऐन र सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०७४ बमोजिम उहाँको प्रदेशसभा सदस्य पद रिक्त भएको जानकारी दिनुभएको थियो ।

नेकपा माओवादी केन्द्रको तर्फबाट अछामको निर्वाचन क्षेत्र १ को ‘ख’ बाट निर्वाचित बोहराले दल त्याग गरेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । बोहरा हालै नेकपा (एमाले)मा प्रवेश गर्नुभएको थियो । नेकपा (एमाले)मा प्रवेश गरेसँगै प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका बोहराले मन्त्री पदबाट राजीनामा समेत दिनुभएको थियो ।

सङ्घीय लोकतान्त्रिक व्यवस्था पछि गठन भएको सुदूरपश्चिम प्रदेश सभामा दल त्याग गरेर प्रदेशसभा सदस्यको पद रिक्त भएको यो पहिलो घटना हो । देशका अन्य कतिपय प्रदेशसभामा र सङ्घीय संसद्मा सरकारले ‘विजनेश’ नदिएको टीका टिप्पणी भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने यस्तो अवस्था देखिएन ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेश सभाका एक जनाको पद रिक्त भएसँगै ५२ प्रदेशसभा सदस्यमा सीमित भएको छ । यस मध्ये नेकपा माओवादी केन्द्र अब १३ जनामा सीमित रहेको छ । नेकपा एमालेका २५, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना प्रदेश सभा सदस्य रहेका छन् ।