१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा

Gandaki Chief minister office

राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारविरुद्धको अविश्वासको प्रस्तावमा समर्थन गर्ने समेत बताएको छ ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काम गरिरहेको भन्दै आफूहरु सरकारको समर्थनबाट बाहिरिन लागेको बताएका छन् ।

अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ,’ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हटेसँगै बन्ने नयाँ सरकारलाई समर्थन गरेपनि सरकारमा सामेल नहुने समेत उनले बताएका छन् ।