१३ बैशाख २०८१, बिहीबार

कोलकत्ताविरुद्ध मुम्बई १० रनले विजयी

krunal ipl 1618338146

साविक विजेता मुम्बई इण्डियन्सले जारी आइपीएलमा कोलकत्ता नाइट राइडर्सविरुद्ध रोमाञ्चक जित हात पारेको छ । मंगलबार राति चेन्नाईमा सम्पन्नमा खेलमा मुम्बईले कोलकत्तालाई १० रनको झिनो अन्तरले पराजित गरेको हो ।

१५३ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रिएको कोलकत्ता ७ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सकेपछि दोस्रो खेलमा मुम्बई विजयी भएको हो । पहिलो खेलमा मुम्बई बैंङलोरसंग पराजित भएको थियो । कोलकत्ताका ओपनरद्धय नितिश राना र सुभमन गिले राम्रो सुरुवात दिलाएका थिए । यी दुईले ७२ रनको साझेदारी गरे । ८.५ ओभरमा शुभमन गिल ३३ रन बनाएर आउट भएपछि बलियो साझेदारी टुटेको थियो । गिलले ५ चौका र एक छक्का प्रहार गरे ।

थप १२ जोड्दा राहुल त्रिपाठी ५ रन बनाएर आउट भए । त्यसपछि मैदान उत्रिएका कप्तान इयान मोर्गन र नितिश रानाले २० रनको साझेदारी गरे । मोर्गन ७ रनमा आउट भए भने टिमको स्कोर १२२ रन हुँदा ओपनर नितिश राना ५७ रनमा आउट भएपछि कोलकत्ताको पारी धर्मराएको थियो । त्यसपछि आएका कुनै व्याट्सम्यानले दोहोरो अंक छुन नसकेपछि कोलकत्ता पराजित हुन पुगेको हो ।

कोलकत्तालाई रोक्न राहुल चहरले ४, ट्रेन्ट बोल्टले २, क्रुनाल पाण्डेयाले एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको मुम्बई निर्धारित २० ओभरमा अलआउट हुँदै १५२ रन बनाएको थियो । उसका लागि सूर्य कुमार यादवले ५६ र कप्तान रोहित शर्माले ४३ रनको पारी खेले । यादवले ३६ बलमा ७ चौका र २ छक्का प्रहार गरे भने कप्तान शर्माले ३२ बलमा ३ चौका र एक छक्का प्रहार गरे । अन्य व्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

मुम्बइलाई मध्यमस्तरमा रोक्न कोलकत्ताका आन्द्रे रसेलले महत्वपूर्ण ५ विकेट लिए । २ ओभर मात्रै बलिङ गरेका रसेलले १५ रन खर्चिए । यस्तै प्याट कमिन्सले २, सकिब अल हसन, प्रशिद्ध कृष्ण र बरुण चक्रवर्तीले समान एक–एक विकेट लिए ।

खेलमा मुम्बईका राहुल चहर प्लेयर अफ दि म्याच घोषित भए ।