१३ बैशाख २०८१, बिहीबार

नेकपा (माओवादी केन्द्र) प्रदेश २ का चार साँसद पदमुक्त हुने

padmukt 750x375 1

नेकपा (माओवादी केन्द्र) प्रदेश २ का चार साँसद पदमुक्त हुने भएका छन् ।

नेकपा एमालेतिर लागेका साँसद रामचन्द्र मण्डल, कुन्दन साह, ज्वाला साह र मो. समिम अन्सारीलाई पदमुक्त गर्ने प्रक्रिया माओवादी केन्द्रले अगाडी बढाएको हो । मण्डल माओवादी केन्द्रका संसदीय दलका नेता थिए । उनीसहित पार्टीमा विद्रोह गरेका चारै साँसदलाई २४ घण्टाभित्र स्पष्टिकरण सोधिने शुक्रबार काठमाण्डुस्थित माओवादीे पार्टी कार्यालयमा बसेको बैठकबाट निर्णय गरिएको छ । स्पष्टिकरणको जवाफ दिएपछि उनीहरुलाई पदमुक्त गरिने प्रक्रिया सुरु हुन्छ– एक साँसदले बताए । यस्तै बैठकले माओवादी प्रदेश २ का नयाँ संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक चयन गरेको छ । संसदीय दलका नेतामा भरत प्रसाद साह, उपनेतामा जगत यादव र प्रमुख सचेतकमा दिलिप साह निर्विरोध चयन भएका छन् । दिलिप साह यसअघि संसदीय दलका उपनेता थिए । प्रदेश २ मा माओवादी केन्द्रका ११ साँसद थिए । जसमध्ये नेकपा एमालेमा पुगेका चार साँसदलाई पदमुक्त गरिएपछि मात्र ७ साँसद रहनेछन् । नेकपा एमालेमा पनि माधव समूहका साँसदहरु नयाँ संसदीय दलका नेता चयन गर्ने विषयमा छलफलमा जुटेका छन् । एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डल केपी शर्मा ओली समूहको रहेका कारण उनलाई हटाउने प्रयासमा माधव नेपाल समूहका साँसदहरु जुटेका हुन् ।

अहिले प्रदेशसभामा नेकपा एमालेका २१ साँसद रहेका छन् । जसमध्ये १३ साँसद आफ् नो पक्षमा रहेको माधव नेपाल समूहको दावी छ । उनीहरुले बहुमतको आधारमा नयाँ संसदीय दलको नेता यसै साता भित्र चयन गर्ने बुझिएको छ । माधव नेपाल समूहका साँसद प्रमोद यादवले नयाँ संसदीय दलको नेता चयन गर्ने विषयमा अहिले कुनै निर्णय नभएको बताए । मण्डललाई नै संसदीय दलको नेता मान्ने जिज्ञासामा उनले छलफलपछि मात्र यो विषयमा जानकारी गराउने बताए । अर्का साँसद शत्रुधन महतोले भने मण्डललाई संसदीय दलको नेता नमान्ने बताए । दुई÷तीन दिनभित्रै बैठक बसेर दलका नयाँ नेता चयन गर्ने औपचारिक निर्णय गर्ने उनको भनाई छ । सर्वोच्च अदालतको फैसला अघि नेकपामा विवाद उत्पन्न हुँदा महतो संसदीय दलका नेता चयन भएका थिए ।