१४ बैशाख २०८१, शुक्रबार

उपचारका लागि अशक्त बिरामीले १२ ठाउँमा लाइन बस्नुपर्ने बाध्यता

Bharatpur Hospital

भरतपुर अस्पतालमा बिरामीको भीडले झनै अस्तव्यस्त बन्दै गएको छ ।

अस्पतालमा टिकटबाट सुरु हुने लाइन औषधि लिएर घर फर्कने बेलासम्म झण्डै १२ ठाउँमा लाइन बस्नुपर्ने बाध्यता छ । कतिपय कमजोर बिरामीहरु लाइन बस्दा बस्दै भूइँमा नै ढल्न सक्ने अवस्था आएको बिरामीहरुले बताएका छन् । अस्पतालमा देखिएको भीडले अर्काेतिर कोरोनाको जोखिम पनि झनै बढ्दै गएको छ ।

भरतपुरको ज्योतिनगरबाट उपचारको लागि आएकी ७० वर्षीय रमादेवी सापकोटा आज बिहान ७ बजेदेखि लाइनमा बसेकी थिइन् । टिकट लिँदा लाइनमा बसेकी उनी, टोकन लिन लाइनमा बसिन्, टोकन लिएपछि डाक्टरलाई देखाउन लाइनमा बसिन्, डाक्टरलाई देखाएपछि फेरि रगत जचाँउन प्रयोगशाला शुल्क बुझाउन लाइनमा बसिन् । प्रयोगशालाको परीक्षणको लागि रसिद ल्याएकी उनले रगत र पिसाब राख्ने भाँडोको लागि लाइनमा बसिन् । उनको रगत झिकेर प्रयोगशालाबाट बाहिर निस्कँदा दिनको झण्डै दुई बजेको थियो । प्रयोगशालाको पछाडि ढोकाबाट निस्कँदै गरेकी उनले भनिन्, ‘ लाइन बस्दा बस्दै हैरान भए अहिले त रिँगटा लागे जस्तो भयो । बिहानदेखि केही खाएको छैन ।’ उनले नागरिकलाई सरकारी अस्पतालमा दुःख दिएर निजी अस्पतालमा जान बाध्य पारिएको गुनासो गरिन् । रगत परीक्षणमा दिए पनि उनको रिपोर्ट आउँन आइतबारसम्म कुर्नु पर्छ । फेरि उनले डाक्टरलाई रिपोर्ट देखाउँन त्यसैगरी लाइनको निरन्तरता दिनुपर्छ । बिमा, कुपन, प्रयोगशाला कतै पनि वृद्ध नागरिकहरुलाई लाइन बस्न नपर्ने व्यवस्था गरिएको छैन । अस्पतालमा लाइन बस्दा नत पर्याप्त कुर्ची छन् नत वृद्धवृद्धालाई विशेष प्रथमिकता छन् । उल्टै कोरोनाको जोखिममा रहेका वृद्धवृद्धा ठेलमेल गर्दै उपचारको लागि अस्पताल पुग्दा रमादेवी जस्तै धेरै वृद्धवृद्धा झनै कोरोना संक्रमणको जोखिममा पुगेका छन् ।

अस्पतालका पूर्वअध्यक्ष प्रदेश सांसद विजय सुवेदीले अस्पताल प्रशासनले जनशक्तिलाई सही ढंगबाट परिचालन गर्न नसकेर यस्तो समस्या आएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘एक ठाउँमा इन्ट्री भएपछि पटक पटक लाइन बस्नुपर्ने काम निकै खेदजनक छ । पूर्वाधार निर्माण र जनशक्तिलाई सही ढंगबाट परिचालन नगरेसम्म यो समस्या हल हुने सम्भावना छैन ।’ उनले अस्पतालमा नियुक्त हुने मेडिकल सुपरिटेण्डेन्टलाई पूरा समय काम गर्न नदिने प्रवृत्तिले पनि अस्पताल प्रशासन कमजोर बनेको बताए ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बासुदेव पाण्डेले आफू आएको भर्खर एक महिना भएकोले यसबारेमा अध्ययनमा नै रहेको बताए । उनले भने, ‘ अस्पतालको समस्याबारे सबै सरोकारवालाहरु राखेर कार्यशाला सञ्चालन गरिसकेको छु । अस्पतालको समस्याको पहिचान गर्दै समाधानको उपायहरु पत्ता लगाउन अनुसन्धान प्रतिवेदन तयार हुँदै छ ।’ उनले यति धेरै बिरामी आउने अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्न सके केही सहज हुने बताए । उनले भने, ‘ राजनीतिको कारणले पनि अस्पतालमा समस्या आएको छ । पुराना र अनुभवी डाक्टरहरु अस्पतालमा नभेटिने समस्याहरु पनि छन् ।’

त्यसैगरी भरतपुर अस्पतालका प्रवक्ता डा युवानिधी बसौलाले अस्पताल भद्रगोल बन्दै गएको स्वीकार गरे । उनले भने, ‘बिरामीको भीडले डाक्टरहरु नै कार्यकक्षमा पुग्न नसक्ने अवस्था छ । सामाजिक दूरीको कुरा त लगभग असम्भव नै छ । अस्पतालमा कोरोनाको जोखिम झनै बढ्दै गएको छ ।’ उनले पटक पटक मेडिकल सुपरिटेण्डेन्ट बदलिँदै जाने प्रवृत्तिले पनि व्यवस्थापनमा समस्या आएको बताए । उनले अनलाइनमा सबै सिस्टमलाई सञ्चालन गर्न सके बिरामीहरु १२ ठाउँमा लाइन बस्नुपर्ने बाध्यता कम हुने विचार राखे । अस्पतालमा यस्तो समस्या देखिएको बर्षाे भए पनि समस्याको समाधान निस्कन नसक्नु विडम्वना भएको सरोकारवालाहरु बताउँछन् ।