१५ चैत्र २०८०, बिहीबार

डाक्टर, नर्स केक काट्न व्यस्त हुँदा शिशुको निधन भयोः आफन्त

bharatpur hospital death

भरतपुर महानगरपालिका १५ सोल्टी चोकका ३ महिने शिशु युगेश लम्साललाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । उनको दिउसो २:४५ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

आमाको दुध चुस्न नमान्ने, एकोहोरो रुने गरेपछि बिहान ९ बजे बुबा रामु लम्साल र आमा सोना बयलकोटी लम्सालले उपचारका लागि शिशुलाई अस्पताल ल्याएका थिए ।

अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्न पनि दुई घण्टा लामो लाइनमा बस्नुपरेको शिशुका बुवा रामु लम्सालले बताउनुभयो । उहाँले छोराको स्वास्थ्य जाँचमा हेलचेक्राई भएका बताउनुभयो । उहाँले भन्नुभयो, बच्चाको अवस्था एकदम नाजुक हुदै गइरहेको थियो,मैले आत्तिदै चिकित्सकलाई हारगुहार गरे तर आउनुभएन ।’

गम्भिर विरामी हुँदा पनि अस्पतालका चिकित्सक, नर्स र अन्य कर्मचारीले लापरवाही गरेको उहाँको भनाई छ । ‘मेरो बच्चा छटपटाइरहेको थियो, तर आकस्मिक कक्षका चिकित्सक र नर्स जन्मदिनको केक काटेर रामाइरहेका थिए,उहाँले भन्नुभयो । ’

युगेस रामु र सोना दम्पतीका तेस्रो सन्तान हुन् । तीन सन्तानका बाबुआमाका साथमा पहिलो सन्तान मात्र छन् । दोस्रो सन्तान पनि आमाको दुध नचुस्ने समस्या भएकै कारण निधन भएको थियो ।

‘दोस्रो सन्तान त हामी आफैले समयमै उपचार गर्न नसकेका कारण निधन भयो । तर तेस्रो सन्तानलाई अस्पतालले लापरवाही गरेका कारण ज्यान गयो, उहाँले गुनासो गर्नुभयो ।’

भरतपुर अस्पतालका मेसु प्रा.डा.कृष्ण प्रसाद पौडेलले भने दुध सर्किएका कारण बच्चाको निधन भएको बिहिबार नै बताउनुभएको थियो । शिशुको परिवार भन्छ, दुध नै चुस्न नमानेको बच्चा कसरी सर्किएर निधन हुन्छ । अस्पताल आफ्नो गम्भिर लापरवाहीबाट उम्कन खोजेको परिवारको आरोप छ ।

उनिहरुले न्याय र क्षतिपूर्तिको माग गरिरहेका छन् । शिशुको शव अस्पतालमै छ । बच्चाको पोष्टमाटम नेपाल मेडिकल काउन्सिल र नीजि अस्पतालका चिकित्सकहरुको सहभागितामा हुनुपर्ने परिवारको माग छ । उनिहरुलाई माग सम्बोधन नभएसम्म शव नउठाउने बताएका छन् ।

अस्पतालको रिपोर्ट हेर्दा शिशुमा हेमोग्लोबिनको कमी देखिएको छ । अस्पतालको निमित्त मेसु डा.गोबिन्द कँडेलले भन्नुभयो, मेडिकल काउन्सिलको टिम आएपछि मात्र वास्तविक कुरा थाहा हुनेछ ।

उहाँले शिशुको निधन हुनुमा चिकित्सक दोषि दखिए कानुन बमोजिम कारवाही हुने बताउनुभयो । यसबारे छानविनका लागि अस्पतालले डा.प्रमोद पौडेलको अक्ष्यक्षतामा समिति बनाएको छ ।

भरतपुर अस्पतालमा पटकपटक चरम लापरवाही हुने गरेको जनगुनासो आउने गरेको छ । कहिले चिकित्सक त कहिले नर्स र अन्य कर्मचारीका कारण विरामीले सास्ती भोग्दै आएका छन् ।