१५ चैत्र २०८०, बिहीबार

प्रहरी हुँ भन्दै पैसा उठाउने दुई जना प्रहरीको फन्दामा

thag

प्रहरी हुँ भन्दै व्यापारीबाट पैसा उठाउने दुई जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ का २३ वर्षीय वीरेन्द्र सिंह र वडा नम्बर २ का २५ वर्षीय पारस मल्ल रहेका छन् ।

उनीहरुले सादा पोशाकको प्रहरी हुँ भन्दै विभिन्न स्थानबाट पैसा उठाउने गरेको सूचना प्राप्त भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–८ बाट पक्राउ गरेको हो । उनीहरुले त्यहाँका व्यापारीबाट पाँच हजार रुपैयाँ माग गरेको अवस्थामा पैसासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुवै जनाले थप अन्य ठाउँबाट पनि पैसा माग गरेको वा लुटपाट गरेको हुन सक्ने जनाइएको छ । प्रहरीले सोही अनुसार अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता हिक्मतबहादुर थापाले बताए ।