१३ बैशाख २०८१, बिहीबार

घनश्याम भूषालद्वारा स्पष्टिकरण पेश

ghanashyam
फाइल फोटो

नेकपा (एमाले)का नेता घनश्याम भूषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पेश गर्नुभएको छ । भुषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लेख्दै आज पेश गर्नुभएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

यस अघि पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले स्पष्टिकरणको जवाफ दिइसक्नुभएको छ । स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएपछि उहाँहरु दुवै जनालाई अध्यक्ष केपी शर्मा ओलीले छ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्नुभएको छ ।

यहि चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको भन्दै भूषाल सहित पार्टीका नेता नेपाल, रावल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उहाँहरु चारै जना नेतालाई पार्टी हित विपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टिकरण सोध्नुभएको थियो ।

स्पष्टिकरणको जवाफमा भूषालले आफू पार्टी विरोधी गतिविधि नगरेको र नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिमा रहेको जवाफ पठाउनुभएको छ ।