७ बैशाख २०८१, शुक्रबार

(भिडियोसहित) बागलुङ होली घटना : बेपत्ता १३ सम्पर्कमा, मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा

baglung

होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थल पुगेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थल पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना भए लगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो । आइतबार दिउँसो दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । राति नै गलकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो । झडपपछि निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको छ ।

मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै ल्याइएको हवारीले बताए । उनीहरुको भिरबाट ५०० मिटर तल खसेको अवस्थामा शव भेटिएको थियो । मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत हुन्। स्थानीयवासीका अनुसार दिउँसो मदिरा खाएर होली मनाउन जम्मा भएका युवाहरूको बीचमा भनाभन हुँदा झडप भएको थियो ।

बागलुङ होली घटनामा बेपत्ता भनिएका १३ जना युवाहरु राति सम्पर्कमा आएको निसीखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले बताउनु भएको छ । १३ मध्ये १० जना युवा घाइते भएको उहाँको भनाई छ ।

घाइते मध्ये ज्ञानु दमाई, मिठे दमाईसहितका युवालाई राति नै उपचारको लागि बुर्तिबाङ पठाइएको अध्यक्ष कुँवरले बताउनुभयो ।