१४ बैशाख २०८१, शुक्रबार

देशभरका ५१ जिल्लाका २ सय ८३ स्थानमा डढेलो

bhojpur scaled
फाइल फोटो

सुख्खायामसँगै देशभरका विभिन्न जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । अहिले पनि देशभरका ५१ जिल्लाका २ सय ८३ स्थानमा डढेलो लागिरहेको वन तथा भूसंरक्षण विभागले जनाएको छ । आज सबैभन्दा बढी पर्साका ३३, चितवनका २६ र सिन्धुलीका २० ठाउँमा डढेलो लागिरहेको विभागका जीआईएस शाखाका उपसचिव सुन्दर शर्माले जानकारी दिनुभयो ।

सुर्खेत, रौतहट, मकवानपुर, दाङ, बर्दिया र बारा जिल्लाका १० भन्दा बढी स्थानमा अहिले पनि डढेलो लागिरहेको छ । कतिपय स्थानमा जङ्गलका लागेको डढेलो गाउँबस्ती नजिकै आएका कारण स्थानीयवासी त्रसित भएका छन् ।

धेरै स्थानमा एकै पटक डढेलो लागेको र दमकललगायतका अग्नि नियन्त्रण उपकरण नभएका कारण डढेलो नियन्त्रणमा समस्या भएको डिभिजन वन कार्यालयहरुले जनाएका छन् ।

यसअघि अस्ति शुक्रबार ५५ जिल्लाका ४ सय ६१ ठाउँका वनजङ्गलमा डढेलो लागेको थियो ।हिउँदको वर्षात् र हिमपात कम भएकाले यो वर्ष जाडो मौसमदेखि नै विगतको तुलनामा वनमा आगलागीको घटना बढ्न थालेको उपसचिव सुन्दर शर्माको भनाइ छ ।