१५ चैत्र २०८०, बिहीबार

रामधुनीमा रहेको सिनेमा घरमा आगलागी हुँदा २ करोड बराबरको क्षति, सञ्चालक घाइते

magic hall 768x376 1

सिनेमा घरमा आगलागी हुँदा सुनसरीमा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी भएको हाे ।

बिहान ९ बजे एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागी करिब २ घण्टा पछि ११ बजे नियन्त्रणमा आएको थियो । हल पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणका लागि इटहरी, इनरुवा, वराहक्षेत्र, दुहबी र कोशी गाउँपालिकाका वारुण यन्त्र परिचालित भएको थियो । त्यस्तै जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रेष्ठले जानकारी दिनु भयाे । आगो भित्री रुपमा लागेपछि नियन्त्रणमा कठिनाई भएको थियो ।

हल सञ्चालक पर्शुाराम चौधरीले आफू हलको क्याबिनमा भिडियो मिक्सिङ गर्दै गर्दा धुवाको गन्ध आएपछि बाहिर गएर हेर्दा आगो सल्किसकेको बताउनु भयाे । उहाँले आफ्नो हातमा पनि आगोले पोलेको बताउनु भएकाे छ । उहाँ सामान्य घाइते बनेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिनु भएकाे छ ।