१५ चैत्र २०८०, बिहीबार

केपी सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता हुन्छ : प्रचण्ड

prachanda 2
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिनमा नै फिर्ता लिने बताएका छन्। नागरिक समाजले आयोजना गरेको नागरिकका प्रश्न र दलहरूको उत्तर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘हत्त न पत्त समर्थन फिर्ता नलिन ममाथि दबाब छ। नलिई है भनिरहेका छन्। समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न सक्दिनँ।’

राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने आफूले चाहेको समेत उनले बताए। उनले जनता एक भएर अघि बढेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ भत्किएको समेत बताए।

‘विगतमा जे परिर्वतन भए त्यसलाई उल्टाउन यो नियोजित रुपमा आएको हो भन्ने मलाई लागेको छ। हामी सबै आन्दोलनमा आएको हो। सेटिङ भएको छ भनेर प्रधानमन्त्रीका मानिसले भन्दै आएका थिए। जनताले अगाडी आएपछि भत्कन्छ भनेर मैले भनेको थिए। हामी जनता एक भएर अघि बढ्यो त्यो सेटिङ भत्क्यो। यही कारण पुनःस्थापना भयो,’ उनले भनेका थिए।