१२ मंसिर २०७८, आईतवार

एमाले नेपाल समूहका चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने

char neta Nepal samuha

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् ।

चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

त्यसपछि गत आइतबार महासचिव ईश्वर पोखरेलले उनीहरुलाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टीकरण माग गरेका थिए । नेपाल समूहका चार जना नेताले पत्रको जवाफ छुट्टाछुट्टै बुझाउने तयारी गरेको एक नेताले बताए । उनका अनुसार, जवाफ आज नै पठाउने तयारी भएको छ ।

‘अबेरसम्म पत्र पठाउने तयारी छ, अहिले नेताहरु पत्र लेख्दै हुनुहुन्छ’, ती नेताले भने । तर, पत्र तयार नभए भोलिसम्म पठाइने सम्भावना छ । जवाफसँगै नेपालसहितका नेताहरुले ओलीसँग पनि प्रश्न गर्ने तयारी गरेको छ ।

स्पष्टीकरण माग गरेको पत्र पाएपछि मंगलबार नेपाल समूहका स्थायी कमिटीका केही नेताहरु दिनभर छलफलमा बसेका थिए । शुक्रबार नेपाल समूहले उपलब्ध केन्द्रीय सदस्यहरुको छलफल राखेको छ ।