१४ बैशाख २०८१, शुक्रबार

पछिल्लो समय चितवनका अस्पतालमा कोरोनाका गम्भीर बिरामी देखापर्न थाले, सतर्क रहन चिकित्सकको सुझाव

corona hospital
फाइल फोटो

चितवनमा पछिल्लो समय कोरोनाका गम्भीर बिरामी देखापर्न थालेका छन् ।

देशमा लकडाउन भएको बुधबार एक वर्ष पुगेसँगै कोरोनाका थप नयाँ बिरामीहरु देखिन थालेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले अस्पतालको आइसोलेसनमा पाँच जना गम्भीर खालका बिरामी देखिएको बताए । उनले भने, ‘सार्वजनिक र अस्पतालको आइसोलेसन पूरै खाली भएको अवस्थामा अहिले थप पाँच जना कोरोनाका बिरामी देखिएका छन् । जसमा दुई जना गम्भीर प्रकृतिका छन् ।’ उनले पछिल्लो समयमा चितवनमा कोरोनाको संक्रमण बढ्दै गएको बताए ।

त्यसैगरी भरतपुर अस्पतालका फिजिसिएन डा गौरीराम महतोले दुई हप्ताको अवधिमा कोरोनाको जस्तै लक्षण भएका बिरामीको संख्या बढ्न थालेको नारायणी अनलाइनलाई बताए । कतिपय बिरामीहरुको अक्सिजनको तह निरन्तर घट्दै गएर आईसीयूमा ने राख्नु परेको उनले बताए । उनले वद्धवृद्धाहरुमा गम्भीर प्रकारको समस्याहरु देखिन थालेको बताए । उनले भने, ‘हप्तामा सातवटासम्म गम्भीर खालको समस्या देखिएका बिरामीहरु आउने गरेका छन् ।’

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको अनुसार विगत २४ घण्टामा सात जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म चितवनमा ११० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने जम्मा छ हजार ९०६ जना कोरोना संक्रमित भएका छन् । अहिले जम्मा आइसोलेसनमा रहेका बिरामीको संख्या ३१ जना छ जसमा अस्पतालमा रहने पाँच जना र घरमा नै आइसोलेसनमा बस्ने २६ जना छन् ।
जनस्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म चितवनका स्थानीय तह मध्ये सबैभन्दा धेरै भरतपुरका संक्रमित भएका छन् । भरतपुरमा चार हजार ९९५ जना, खैरहनीमा ४१८, माडीमा १४७, रत्ननगरमा ७८८ जना, राप्तीमा ३२२ जना, कालिकामा १९६ जना र इच्छाकामनामा ४० जना संक्रमित भएका छन् ।

चिकित्सकहरुले थप सतर्क रहन सबै जिल्लाबासीलाई सुझाव पनि दिएका छन् । भरतपुर अस्पतालका वरिष्ठ फिजिसिएन डा कालिदास अधिकारीले नयाँ संक्रमितको संख्या बढिरहेकोले विशेष सतर्कता अपनाउन जरुरी हुन्छ । उनले भने, ‘हामी गम्भीर देखिएका छैनौं । भारतमा पनि संक्रमित बढिरहेकोले हामी अझै बढी सतर्क रहन जरुरी छ ।’

त्यसैगरी फिजिसिएन डा महतोले कोरोना विरुद्धको खोप लगाएको भन्दैमा लापरवाही नगर्न सुझव दिएका छन् । उनले भने, ‘भ्याक्सिन लिए पनि थप मास्क, स्यानिटाइजर र सामाजिक दूरी कायम गर्न जरुरी छ ।’ चितवनमा माघ महिनामा ह्वात्तै घटेको कोरोनाको संक्रमण दर फागुनको अन्तिम हप्ताबाट केही बढ्न थालेको हो ।