१५ चैत्र २०८०, बिहीबार

प्रदेश २ को सीमामा नेपाल आउनेलाई कडाइका साथ जाँच

health desk nepal border

छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च सतर्कता अपनाइएको छ । प्रदेश नं २ को भारतीय सीमासँग जोडिएको नाकामा ६७ बिओपी र ३५ एफओपीको पोष्ट रहेका छन् ।

ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कडाइका साथ जाँच गर्ने निर्देशन समेत दिइएको छ । सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीले आठवटै जिल्लामा रहेका कोभिड सङ्कट व्यवस्थापन समिति तथा स्थानीय निकायसँग समन्वय गरी हेल्थ डेस्क राख्ने निर्देशन दिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताउनुभयो ।

उहाँले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका युनिटले आवश्यकतानुसार आठवटै जिल्लामा फोरवार्ड अपरेटिङ बेस खडा गरी सीमा नाकामा हेल्थ डेस्क राखेर काम गर्न निर्देशन दिएको बताउनुभयो । यसैबीच पछिल्लो केही दिनयता पर्सा जिल्लामा पुनः कोरोना सङ्क्रमित फेला पर्न थालेकाले कोभिड सङ्कट व्यवस्थापन समिति पर्साले बैठक बसी सीमा नाकामा कडाइ गर्ने, सशस्त्र र नेपाल प्रहरीलाई कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा राखी मुख्य नाकामा सेना परिचालन गर्ने तथा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी एवं कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक आसमान तामाङको अध्यक्षतामा बसेको बैठकले कोभिड सङ्क्रमित बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गरी जिल्लाका नारायणी अस्पताल, बगही स्वास्थ्य चौकी, पोखरिया अस्पताल र भिखमपुर स्वास्थ्य चौकीमा कोभिड सङ्क्रमितको उपचारका लागि शय्याको व्यवस्थापन गरिने निर्णय गरेको छ । सो समितिले होली पर्वलाई दृष्टिगत गरी होली खेल्ने क्रममा २५ जनाभन्दा बढी भीड नगर्न सबैसँग आग्रह गरेको छ ।