१४ बैशाख २०८१, शुक्रबार

नारायणगढ-बुटवल सडकः चिनियाँ ठेकेदार पक्ष र मजदुर कुटाकुट, ६ घाइते

Butwal narayangadh 8 copy
फाइल फोटो

बुटवल-नारायणगढ सडक निर्माणका ठेकेदार र मजदुर पक्षबीच कार्यालय हातामा कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेको चिनियाँ साइड अफिसमा बुधबार अपराह्न चिनियाँ ठेकेदार पक्ष र मजदुर पक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।

त्यहाँ जिल्ला प्रहरीबाट खटिएका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको छ । नेपाली मजदुरहरुले चिनियाँ पक्षले आज वार्तामा बोलाएर एक्कासी कुटपिट गरेको आरोप लगाएका छन् । जिल्ला प्रहरीका एसपी प्रकाश मल्लले दुबै पक्षबीच हात हालाहाल भएको भन्ने जानकारीका आधारमा प्रहरी घटना साम्य भएको र ६ जना घाइते भेटिएकोले उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको जानकारी दिए । नेपाली मजदुरले चिनियाँहरुले वार्तामा बोलाएर पिटेको भनेका छन्, मल्लले भने, चिनियाँ पक्षको भाषा बुझिँदैन दोभासेको खोजी भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त छ ।

बुटवल-नारायणगढ सडक आयोजनाअन्तर्गत दाउन्ने गैंडाकोट खण्डका इन्जिनियर तथा सूचना अधिकारी कृष्ण आचार्यले माटो र डिजल चोरीको अभियोग लगाएर १३ जनाको तबल रोक्का गरेर छानबिन थालेको चिनियाँ ठेकेदार पक्षले जानकारी गराएको सुनाए । उनका अनुसार नेपाली पक्षले चिनियाँले आरोप लगाएको र आफूहरुले नचोरेको दाबी गरेका छन् । प्रहरीले अनुसन्धान गर्दैछ चाँडै तथ्य बाहिर आउला, आचार्यले भने ।