१५ बैशाख २०८१, शनिबार

तत्काल लकडाउन गर्न आवश्यक छैन : स्वास्थ्य मन्त्रालय

helth ministry office nepal

स्वास्थ्य मन्त्रालयले तत्काल लकडाउन नहुने स्पष्ट पारेको छ ।

कोरोना संक्रमणको अवस्था सामान्य रहेको र सर्वसाधारणहरु सजग नै रहेका कारण तत्काल लकडाउन गर्न आवश्यक नरहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको प्रकोप बढ्ने वा घट्ने के हुने भन्ने विषय आम नागरिकले अपनाउने स्वास्थ्य सतर्कता र सुरक्षाका उपायमा भर पर्ने भएकाले नागरिकलाई नै सतर्क रहन आग्रह गरेको छ । हालसम्म सर्वसाधारणहरु सजग नै रहेको उल्लेख गर्दै मन्त्रालयले लकडाउन रहर नभएर बाध्यता भएकाले यो अवस्था आउनै नदिने स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।

कारोना खोप लगाएकालाई फेरी संक्रमण देखिएको समाचार आइरहदाँ यो स्वभाविक नै रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा हाल लगाइरहेको खोप कोभिसिल्डको प्रभावकारीता दुवै डोज लगाएको अवस्थामा ७२ प्रतिशत मात्रै भएकाले खोप लगाएका शत प्रतिशतलाई संक्रमण हुँदैन भन्ने नहुने उहाँको भनाइ छ । तर खोप लगाइसकेकालाई पुनः संक्रमण देखिएमा त्यसको असर भने न्यून हुने गौतमको दाबी छ ।

मन्त्रालयले प्रारम्भिक चरणमा खोप लगाएकाका लागि दोस्रो चरणको खोप लगाउन कुनै समस्या नरहने स्पष्ट पारेको छ । खोप अभियानमा नेपालले उल्लेख्य कार्यप्रगती हासिल गरेको समेत गौतमको दाबी छ ।